हिमालयन बैंकको एफपीओ प्रस्ताव पारित, सञ्चालक समितिमा ६ जना निर्विरोध

काठमाडौं । हिमालयन बैंकको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको ३१औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै बैंकले आफ्नो कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि अङ्कित मुल्यमा प्रिमियम थप गरी साधारण सेयर जारी गर्ने छ । साथै, उक्त थप सार्वजनिक निष्काशनको संख्या निर्धारण गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । उक्त सभाबाट बैंकको सञ्चालक समितिमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे गरी ५ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी बैंकको आजै बसेको संचालक समितिको बैठकले नवनियुक्त संचालकहरुमध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ । अध्यक्षमा नियुक्त भएसँगै श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने बताए । सभामा अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको तथा तत्कालिन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकिकृत कारोबार सुरु गरिसकेकको जानकारी गराए । यसका साथै उनले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तन गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए । उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको समेत बताए । बैंकले आर्थिक २०७९/०८० को अन्त्यसम्म प्राप्ति सहित २ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो ।

नेपाल टेलिकमको ४० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को लाभांश पारित भएको छ । कम्पनीको आईतबार सम्पन्न सोह्रौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित ४० प्रतिशत लाभांश पारित गरेको हो । समितिले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९/८० को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । कम्पनीका अनुसार साधारणसभामा करिब ९२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताए । समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने रु २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’ कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले भने, ‘देशभर फोरजी/एलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंकमार्फत सेवा उपलब्ध गराइने र विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’ कम्पनीका अध्यक्षले साधारणसभामा सेयरधनीहरुले उठाएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझाव दिने सेयरधनीहरुप्रति आभार व्यक्त गरे । कम्पनीले सोह्रौ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम आइतबार (२०८० पुस २९ गते) देखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

सेयर बजारमा दोहोरो अंकको सुधार, नेपाल रिको सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन कारोबार भएको सेयर बजारमा सुधार देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५१ प्रतिशतले बढेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार ४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३१४ वटा स्क्रीप्सको कारोबार भएको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३५ करोड ६८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको ३ करोड ५२ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ६७२ रुपैयाँ छ । संस्थापक र साधारण सेयर गरी कम्पनीको आइतबार मात्रै ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत कम्पनी, माथिल्लो मैलुन खोला जलविद्युत, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, दिब्याश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनी रहेका छन् । बजारमा होटल्स र ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् ।