कैलाश हेलिकप्टरले प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । कैलाश हेलिकप्टरले प्रिमियममा सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक प्रताप जङ्ग पाण्डे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पूँजी ३५ करोडको १० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने प्रक्रिया अघि बढाएको छ । ३ करोड ५० लाख रुपैयाँ सेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरको ३,५०,००० कित्ता साधारण सेयर प्रचलित कानूनको अधिनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मुल्यमा जारी गर्ने कम्पनीले जनाएको छ । सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको यस कम्पनीले एयरबस कम्पनी फ्रान्सद्वारा निर्मित एएस३५० सेरिजको ३ वटा हेलिकप्टर मार्फत उच्चस्तरिय विविध सुविधा प्रदान गर्दै आएको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व.०७६/२०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ । कम्पनीले आ.व.२०७९/२०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशतका दरले नगद लाभांस वितरण गरेको छ । उक्त बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको बोनस वितरण पश्चात किताबी मुल्य १४६/२९ रुपैयाँ कायम रहेको कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ थान हेलिकप्टर पुरयाउनु पर्ने भनी जारी गरिएको नितिलाई अनुसरण गर्दै पूँजी बृद्घि गरी सुरक्षा नितिको पूर्ण पालना गरी सन् २०२५ मा १ थान र सन् २०२७ मा १ थान गरी थप २ थान हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकप्टर सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

लोवर इर्खुवा हाईड्रोले आईपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । लोवर इर्खुवा हाईड्रोपावरले सर्वसाधारणलाईजारी गर्न लागेको २८,०५,७५० थान साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य १००/– का दरले कूल २८,०५,७५,०००/– (अक्षरेपी अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजार रुपैयाँ मात्र) को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । लोवर इर्खुवा हाईड्रोको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित कार्यक्रममा ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवाको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

नेप्सेमा ४ बैंकको ७ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ वाणिज्य बैंकको झण्डै ७ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंकको गरी कूल ६ करोड ९० लाख ८९ हजार ८३० कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस वापतको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । एभरेष्ट बैंकको १० प्रतिशत बोनस वापतको १ करोड ६ लाख ९८ हजार ९४ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गरेको हो । एनआईसी एशिया बैंकको २० प्रतिशत बोनस वापतको ३ करोड ३५ लाख ३५ हजार ६१५ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२ प्रतिशत नगद गरी कूल ३०.५२ प्रतिशत लाभांश वितरण गरेको हो । सानिमा बैंकको ९ प्रतिशत बोनस वापतको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.७ प्रतिशत नगद गरी कूल १४.७ प्रतिशत लाभांश वितरण गरेको हो ।