शतप्रतिशत हकप्रद निष्काशन गर्न अरुण भ्यालीले तोक्यो बुक क्लोज

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) तोकेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि माघ १५ गते बुक क्लोज मिति तय गरेको हो । त्यसैले माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रुपैयाँको १ः१ अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर बिक्री गर्नेछ ।

तारागाउँ रिजेन्सीले जम्मा गर्यो बैंक खातामा ११ प्रतिशत नगद लाभांश

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको पुस २४ गते सम्पन्न २७औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सेयर दाखिला बन्द हुने मिति पुस ११ गतेसम्म कायम सेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम जम्मा गरिएको हो । हालसम्म पनि अभौतिकीकरण नगराएका सेयरधनीहरूले हितग्राही खाता खोली बैंक खाताको विवरण अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । साथै, सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने कम्पनीको भनाइ छ । मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरूको खाता नम्बर परिवर्तन हुने हुँदा जम्मा गरेको रकम फिर्ता आउने भएकाले परिवर्तित नयाँ खाता नम्बर अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल रहेको छ ।

एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय लम्बियो

काठमाडौं । एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । एनआईएमबि एस क्यापिटलले माघ २ गतेदेखि बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डमा लगानीकर्ताहरूले अब माघ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटलले १२ वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री खुला गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल (साविक एनआईबिएल एस क्यापिटल) र १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेन्ट बैंक)लाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।