बढेको बजारमा सूर्यज्योतिको सर्वाधिक कारोबार, तीन फाइनान्समा लाग्यो सर्किट

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४५ प्रतिशतले बढी हो । बजारमा ४ अर्ब माथिको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा ३१५ वटा स्क्रीप्सको कूल ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सूूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन १८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । जसको सेयर मूल्य भने घटेर ४९९.१० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.७० रुपैयाँले कम हो । मंगलबार फाइनान्स कम्पनीमा उछाल देखिएको छ । टप गेनरको अग्रस्थानमा लगातार तीन फाइनान्स कम्पनी रहेका छन् । प्रत्येकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स कम्पनीको १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२.२० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल फाइनान्सको ९.९९ प्रतिशतले बढेर ४६५.८० रुपैयाँ र पोखरा फाइनान्सको पनि सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४७५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा विन नेपाल लघुवित्तको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता १५११.१० रुपैयाँमा झरेको छ । मंगलबार होटल एण्ड टुरिजम, उत्पादनमूलक र लघुवित्त समूह ओरालो लागेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।

मेवा खोला आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ जारी गर्ने तयारीमा

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिए कै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तिव्र गतिमा निर्माण कार्य भैरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष ई. आशिष थापाले बताए । २०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भैरहेको कम्पनीले जनाएको छ । उर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरुको लगानीमा निर्माणाधिन यस आयोजनाको साधारण सेयर (आईपीओ) निष्काशनको लागि कम्पनीले गृहकार्य गरिरहेको छ । सिटिजन्स क्यापिटल लि.लाई बिक्री प्रबन्धकमा नियुक्त गरी आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ सय जना भन्दा धेरैले रोजगारी पाएका छन् ।

सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल आज खोलिने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको गोप्य शिल्ड टेण्डर (बोलकबोल) खोलिने भएको छ । कम्पनीले उक्त सेयरको बोलकबोल मंगलबार नक्सालमा रहेको ग्रिन लिभ्स रेस्टुरेन्टमा बिहान ८ बजे खोल्न लागिएकाे जनाएको छ । कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । कम्पनीका अनुसार बोलकबोल खोलिएको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटल फेसबुक लाइभमा हेर्न सकिने छ ।