नेप्सेमा लगातार पाँचौ दिन पनि हरियाली, बैंकिङ समूह ४ प्रतिशतले बढ्यो

काठमाडौं । नेप्से परिसूचकमा लगातार पाँचौ दिन पनि हरियाली छाएको छ । आज नेप्से १५.५४ अकंले बढेर २१३१.४९ बिन्दुमा पुगेको छ । ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह ४.२३ प्रतिशत, विकास बैंक समूह ०.३३ प्रतिशत,  होटल तथा पर्यटन समूहको १.९० प्रतिशत र म्युचुअल फण्ड ०.३६ प्रतिशतले सेयर मूल्य बढेको छ । बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । ब्याजदर घट्दा लगानीकर्ता यसतर्फ आकर्षित भइरहेका छन् । आज सामुदायिक लघुवित्त र बुद्धभूमि नेपालको सेयरमा  सकारात्मक सर्किट लागेको छ । पछिल्लो समय नियामक निकाय लचिलो हुँदै जाँदा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव मार्केटमा परेको छ । जसका कारण लगानीकर्ता खुसी बनेका छन् । आज नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावरको १७ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेशनल फण्डले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा डाकेको छ । सभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको ५० रुपैयाँ प्रतिसेयरको २ बराबर १ सेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गरी चुक्ता पुँजी र जारी पुँजी बढाउने तथा प्रिमियममा समेत सेयर जारी गर्न सक्ने व्यवस्था गर्ने एजेण्डा रहेको छ ।

महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४ सय ७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको जनाएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।