बुद्धभूमी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ३० गते विशेष साधारण सभा बोलाएको हो । उक्त सभा काठमाडौं पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ । सभाले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्नेछ ।

हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स डाक्यो विशेष साधारण सभा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा डाकेको गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा डाकेको हो । सभा काठमाडौं टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजे आयोजना हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभाले हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्तापुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २५ गतेका दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।