सैदी पावरको सेयर जारी गर्न कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
सेयर बजार ३ अंकले बढ्दा ५ अर्ब बढीकाे कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.७९ अंकले बढेर २१०४.३३ बिन्दुमा पुगेको छ । बुधबार ३ सय १४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १०१ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको घटेको छ भने १० कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ । यस दिन लगानीकर्ता फाइनान्स र व्यापार समूहमा झुम्मिएका छन् । बुधबार फाइनान्स समूहको ६.०४ प्रतिशत र व्यापार समूहको ६.१२ प्रतिशतले सेयर मूल्य बढेकाे छ । साथै, विकास बैंक समूह २.७१ प्रतिशत र वाणिज्य बैंक समूह ०.६३ प्रतिशतले बढेको छ । बुधबार सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.७० प्रतिशतका दरले गुमाएका हुन् ।
इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो। संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन पेस गर्नपर्ने संस्थाले जनाएको छ । लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलपत्र आवेदन पेस गर्न सक्नेछन । संस्थाका अनुसार तोकिएको समयभित्र आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।