२ मिनटेमै सेयर बजार ‘हल्ट’, नयाँ गठबन्धनसँग लगानीकर्ता उत्साहित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको केही मिनेटमै हल्ट (बन्द) भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बन्ने भएपछि नेप्से परिसूचक ४ प्रतिशत बढेर केही समयका लागि बन्द भएको हो । नेप्से सूचक ४ प्रतिशत बढ्दा पहिलो सर्किटमा २० मिनेटको लागि कारोबार बन्द हुने व्यवस्था छ । बजार खुलेको २ मिनटेमा ८२.४८ अंकले बढेको हो । काँग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । साथै अर्थमन्त्री एमालेले पाउने भएपछि पनि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । २ मिनटेको अवधिमा २२२ कम्पनीको २ लाख २४ हजार ६६ कित्ता सेयर १ हजार ४९९ पटक खरिदबिक्री हुँदा ८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । साथै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
प्रिओपन सेसनमा ३२.४४ अंक बढ्यो नेप्से सूचक
काठमाडौं । नयाँ सरकारको गठन प्रक्रिया अघि बढेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक प्रिओपन सेसनमा ३२.४४ अंकले बढेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्ने लगभग पक्कापक्की भएपछि सेयर बजारको प्रिओपन सेसनमा उचाल आएको हो । साथै अर्थमन्त्री एमालेले पाउने भएपछि पनि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । प्रिओपनमा १७८ कम्पनीको ६५ हजार ३२२ कित्ता सेयर ६७३ पटक खरिदबिक्री हुँदा २ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता अर्थात ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासन गर्नको लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप-शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आईरहेको कम्पनीले जनाएको छ ।