प्रभु बैंकको ६ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २ सय ३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने छन् । बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापकहरूबाट सेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले विद्यमान संस्थापक सेयरधनी वा अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी शेसयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।
१२ करोडको आईपीओ जारी गर्दै सोलार फार्म, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँका दरले १२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोलार फार्म लिमिटेडको अधिकृत पूँजीअधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २५ करोड रुपैयाँ रहेको छ ।
अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार सोमबार कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको थियो ।