नेप्सेमा गिरावट आएपनि कारोबार रकम बढ्यो, यी ४ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं । दिनभरिको उतारचढावपछि पुँजी बजारमा गिरावट आएको छ । निरन्तर ६ दिन ओरालो लागेको नेप्से सातौं दिन बिहीबार भारी अंकले बढेको थियो । तर त्यो रौनकता दोस्रो दिन मत्थर देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८८ प्रतिशत अर्थात् ५०.७३ अंक घटेर २ हजार ६३७.७९ अंकमा बन्द भएको छ । यसअघि बिहीबार नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात् ७८.१७ अंक बढेर २ हजार ६८८.३८ अंकमा बन्द भएको थियो । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार कित्ता १ लाख १९ हजार पटक खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घेटेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज २१९ कम्पनीको सेयर मूल्य घट्दा २४ कम्पनीको सेयर मूल्य बढेको छ । बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक समूह २.५१ प्रतिशत, फाइनान्स समूह ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६८ प्रतिशत, जलविद्युत समूह १.४८ प्रतिशत, लगानी समूह २.८० प्रतिशत, जीवन बीमा समूह २.७४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.७९ प्रतिशत, लघुवित्त समूह १.८८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.६१ प्रतिशत, निर्जीवन बीमा समूह २.१६ प्रतिशत, अन्य समूह २.२३ प्रतिशत र व्यापार समूहको ०.९० प्रतिशत घटेको छ । बजारमा गिरावट आएपनि आज विभिन्न ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । तर, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशत नकारात्मक सर्किट लागेको छ । यस्तै, ग्रनीलाइफ हाइड्रोपावरको ९.४० प्रतिशत र सीईडीबी हाइड्रोको ९.१५ प्रतिशतले सेयर मूल्य घटेको छ । नेप्सेकाअनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६४ करोड ३८ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३५ करोड २८ लाख ८४ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख ३३ हजार रुपैयाँ, अपि पावरको २५ करोड ४३ लाख ५५ हजार रुपैयाँ र सिंगटी हाइड्रो इनर्जीको २४ करोड ४१ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

५.२६ % लाभांश पारित गर्न आशुतोष इनर्जीले डाक्यो साधारण सभा

काठमाडौं । आशुतोष इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशतका दरले २ करोड ५२ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा असोज २० गते बोलाएको छ । कम्पनीको सभा नक्साल काठमाडौंमा बिहान साढे ८ बजे बस्नेछ । कम्पनीको सभाले संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सीईडीबी हाइड्रोको लाभांश घोषणा, ५४.५ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश र हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भखौ २९ गते बैठकले सेयरधनीहरूलाई लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ । यस्तै कम्पनीले बोनस सेयर जारी गरेपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने कपनीले जनाएको छ । लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा असोज २१ गते बिहान १० काठमाडौंमा बस्नेछ ।