गरिमा क्यापिटलको दशैं अफर, डिम्याट र मेरो सेयर खाता खोल्दा स्मार्ट वाच

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले दशैंतिहारलाई लक्षित गरी नयाँ याेजना सार्वजनिक गरेकाे छ । योजनाअन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्दा लक्की ड्रमार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्ने जनाइएकाे छ । यसका लागि असोज १ गते देखि कात्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नु पर्नेछ । ग्राहकहरूले यो अफरअन्तर्गत खाता खोल्न काठमाडौंकाे कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेवसाइटबाट पनि खाेल्न सक्नेछन् । यससम्बन्धमा थप जानकारी बैंककाे वेबसाइट तथा फाेन नम्बरबाट प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ । साथै गरिमा क्यापिटलले आउँदै गरेकाे दशैंतिहार तथा छठ पर्वकाे उपलक्ष्यमा शुभकामना पनि व्यक्त गरेकाे छ ।

ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १० लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा एसबीआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरे । ठमेल प्लाजा होटल काठमाडौं महानगरपालिका १६ स्थित ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । होटलले ९० वटा कोठामार्फत् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सेवा प्रदान गरिरहेको छ । यस होटलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । साथै रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ । अमेरिकाको न्युजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्टअन्तर्गत संसारभरि ९ हजार १ सयभन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल २५ वटा ब्राण्डहरूमध्ये रमदा ६३ देशमा ८५१ वटा होटलहरू सञ्चालनमा रहेका छन् ।

लगातार तीन दिन घट्यो सेयर बजार

काठमाडौं । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बुधबार परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज तीन सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता सेयर ८० हजार तीन सय ७८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य रहेको छ । यो सात दशमलव ६७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख आठ हजार पाँच सय ८४ को कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको पाँच लाख सात हजार दुई सय ७० कित्ता सेयर किनबेच भएको छ । याे पनि पढ्नूहाेस् : सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्सेमा अर्थमन्त्री पौडेल