सानिमाले सिधैं पठायो इकाईधनीको बैंक खातामा लाभांश
काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फण्डको लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको छ । क्यापिटलले सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो । क्यापिटलले असोज ७ गतेदेखि इकाईधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा लाभांश आईपीएस मार्फत् जम्मा गर्ने जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ । कम्पनीले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सानिमा इक्विटी फण्डले १५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।
शेखर गोल्छाको हुलास फिनसर्भले २० लाख ७५ हजार कित्ता आईपीओ जारी गर्दै
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २० लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएकाे छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरे । गाेल्छाले नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने बताए । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर-बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरूलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।
नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, ११ दशमलव ५८ अङ्कले बढ्यो
काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो । आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह शून्य दशमलव ३१, होटल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी बैकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६, जलविद्युत् शून्य दशमलव ३१, लगानी शून्य दशमलव ६२ र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ । इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को छ लाख ४७ हजार दुई सय तीन कित्ता किनबेच भएको छ ।