'सेयर बजारको सुधारले अर्थतन्त्रलाई गति दिन्छ'

काठमाडौं । नेपाली अर्थतन्त्रमा सेयर बजारको प्रभावबारे छलफल गर्न मोरङ उद्योग व्यापार संघको आयोजनामा विजटक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरेक्ट क्लब अफ विराटनगरको सहकार्य तथा शुभकामना सेक्युरिटिजको प्रायोजनमा आयोजित कार्यक्रम संघको कार्यालयमा सम्पन्न भयो । कार्यक्रमको संयोजन मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य ओम प्रकाश शर्माले गरेका थिए । प्यानलमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाई, विशाल मैदा मिलका प्रबन्ध निर्देशक विकास कुमार बेगवानी, शुभकामना सेक्युरिटिजका प्रोमोटर निखिल अग्रवाल सहभागी थिए । कार्यक्रमको मोडरेसन केतन बोहराले गरे । स्वागत मन्तव्यका क्रममा संयोजक शर्माले नेपालको सेयर बजार विकासको चरणमा भए तापनि अस्थिर रहेको बताए । उनले अस्पष्ट नीतिहरू, नियमनको अभाव र लगानीकर्ताको विश्वास घट्नुले बजारमा अस्थिरता ल्याएको उल्लेख गरे । साथै, उनले आईपीओ प्रक्रिया सरल बनाउने, निजी क्षेत्रको सहभागिता प्रोत्साहन गर्ने र नीतिगत स्पष्टता ल्याउने खालका सुधारबाट दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सकिने धारणा राखे । प्यानलमा सहभागी वक्ताहरुले पनि सेयर बजारको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आफ्ना विचार राखे । सहभागीहरुद्वारा उठाइएका जिज्ञासामा प्यानल सदस्यहरुले प्रस्टिकरण दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीसहित पदाधिकारी, कार्यसमिति सदस्य, युवा तथा महिला उद्यम समिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, सेयर लगानीकर्ता, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम मकालु टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज असार ६ गते अन्तिम दिन रहेको छ । क्यापिटलले जेठ २३ गतेदेखि बिक्री खुला गरेको प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किममा लगानीकर्ताहरुले आजसम्म खरिद गनै पाउनेछन् ।  क्यापिटलले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरमा कुल २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । स्किमको कुल इकाई आकार ४ करोडका ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र ७.५ प्रतिशत योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको क्यापिटलले जनाएको छ ।  गानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी अनलाइनबाटै पनि आवेदन दिन सक्नेछन् ।

नेशनल लाइफको ३७औं साधारणसभा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अनुसार नगद लाभांशस्वरूप ५२ करोड १२ लाख १३ हजार रुपैयाँ र बोनस सेयरस्वरूप २६ करोड ६ लाख रुपैयाँ वितरण गरिनेछ । साथै, लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतअनुसार ४ करोड ११ लाख ४८ हजार रुपैयाँ छुट्याउने प्रस्ताव पनि पारित गरिएको छ । हाल नेशनल लाइफको चुक्तापुँजी ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ, भने बोनस सेयर वितरणपछि यो ५ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि पुग्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८०/८१ मा गरिएको खर्च अनुमोदन गर्ने, र नियामक निकायको निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित गरेको छ । साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन पनि गरेको छ । यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिएको छ ।