नेप्सेमा सामान्य सुधार, १२३ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २६०० विन्दुमा पुगेको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५२ करोड रुपैयाँ बराबरको करोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ४२ करोड, न्यादी गुप्रको ३३ करोड, सानीमा माइ हाइड्रोको २८ करोड र हिमालयन पावर पार्टनरको २६ करोड रुपैयाँको कारोबार भएको छ । आज जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
इन्भेष्टमेन्ट कम्पनीको आईपीओमा कडाइ, २ वर्ष नाफा र अंकित मूल्य भन्दा बढी नेटवर्थ
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी (इन्भेष्टमेन्ट) कम्पनीलाई आईपीओ निष्काशन कडाइ गरेको छ । धितोपत्र बोर्डको बैठकले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्ने सन्दर्भमा परिमार्जन गर्दै थप कडाइ गरेको हो । बोर्डका अनुसार संगठित संस्था तथा लगानी कम्पनी कम्तिमा विगत तीन वर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक बर्षमा मुनाफा गरेको हुनुपर्ने, कम्पनीको प्रतिसेयर नेटवर्थ अंकित मूल्य भन्दा बढी भएको हुनुपर्नेछ । यस्तै, लगानी कम्पनीले उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने बोर्डले जनाएको छ । तर, योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा बुक बिल्डिङ विधिमार्फत् हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्नेछन् । लगानी कम्पनी उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने, न्यूनतमभन्दा कम्तिमा एक स्तर माथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने बोर्डले जनाएको छ । लगानी कम्पनीको चुक्ता पुँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने र बैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले बैदेशिक लगानी तथा प्रविधी हस्तान्तरण सम्बन्धी ऐनको प्रकृया पुरा गरेको हुनुपर्नेछ ।
दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीले आज असार ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थायी बसोवासले आवेदन दिन सक्नेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपाली, २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार २३ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन ६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले दरमखोला पावरहाउस मानेबापाटा, ग्लोबल आइएमई बैंकको वामी, लक्ष्मी सनराइज बैंक, प्रभु बैंकको गल्कोट शाखाबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।