हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू अनुमोदन गरेको छ । साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत टुंग्याइएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्चलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जानकारी दिएको छ । सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले आगामी आर्थिक वर्षको साधारणसभा समयमा नै गर्ने प्रतिबद्धता व्यक्त गर्दै सेयरधनीलाई दीर्घकालीन रुपमा उचित प्रतिफल दिन कम्पनी प्रतिबद्ध रहेको बताए । उनले सभामा उपस्थित भई सहयोग गर्ने सबै सेयरधनीलाई धन्यवाद पनि व्यक्त गरे। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत जेठ २८ गते एक दिन बुक क्लोज गरेको थियो। यस अनुसार जेठ २७ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले सभाबाट पारित भएको ८ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

२६ सय अंकमा झर्यो नेप्से परिसूचक, कारोबार ५ अर्ब ७६ करोडमै सीमित

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२२ अंकले घटेर २६ सय बिन्दु कायम भएकाे हाे ।  आज १०७ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको २७ करोड रुपैयाँको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको २३ करोड ९६ लाख, हिमालयन पावरको २३ करोड ८५ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड र न्यादी गुप्रको २१ करोड रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ८.०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइसी एसिया डिभेन्चर २०८५/८६ को सेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ ।  

सांग्रिलाबाट ४ जना संस्थापक बाहिरिँदै, सिद्धार्थ प्रिमियरको १० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ९ लाख ९९४ हजार ६२२ कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरुका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।  यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनी ओसिन बतासले २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङले २५ हजार ७५९ कित्ता, बलराम श्रेष्ठले ६४ हजार कित्ता र प्रभा बुढाले १४ हजार ३१२ कित्तासेयर बिक्रीमा राखेका हुन् ।  बैंकको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण सेयरधनीहरूका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ । तर, प्रभा बुढाको स्वामित्वमा रहेको सेयर खरिदका लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।