नबिल, ग्लोबल र एनआईएमबिबीच कडा प्रतिस्पर्धा, १० बैंकको नाफा घट्दा नेपाल बैंकको ४५७ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १.६७ प्रतिशत अर्थात् ८१ करोड २० लाख रुपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको वैशाखसम्ममा २० वटा बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छ । गत वर्षको वैशखमा ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।  १० महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको वैशाखमा यस बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा २.५८ प्रतिशत अर्थात् १४ करोड १३ लाख रुपैयाँ बढेको हो । ग्लोबल आइएमई बैंकले वैशाखसम्ममा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २९.८९ प्रतिशत अर्थात् १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।  यस्तै, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकले ३३.१४ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ९८ लाख रुपैयाँ बढी नाफा गरेको हो ।  यस अवधिमा नेपाल बैंक नाफा वृद्धिमा आक्रामक देखिएको छ । नेपाल बैंकको १० महिनामा खुद नाफा ४५७ प्रतिशत अर्थात् २ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ बढेर ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकको नाफा ५९ करोड ३ लाख रुपैयाँ मात्रै थियो ।  १० महिनाको अवधिमा एभरेष्ट बैंकको ३०.९६ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १०.१९ प्रतिशत बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  राष्ट्र बैंकका अनुसार १० महिनामा सानिमा बैंक ७.१० प्रतिशत बढेर १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकको ५.५५ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  तर, यस अवधिमा विभिन्न १० बैंकको नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । एनआईसीको ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, हिमालयन बैंकको ६९.३३ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकको ६६.२७ प्रतिशत घटेर ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ३५.७३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३०.९२ प्रतिशत घटेर १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ, प्रभु बैंकको २०.०९ प्रतिशत घटेर २ अर्ब १४ लाख रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, प्राइम बैंकको १९.८४ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड    बैंकको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।  

हिमालयन बैंकबाट पाकिस्तानको हबिब बाहिरिने, बिक्रीमा राख्यो ३ अर्ब १५ करोडको सेयर

काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्री गरेर बाहिरिने भएको छ । लामो समयदेखि बैंकबाट सेयर बिक्री गरेर बाहिरिन खोजेको हबिब बैंकले अन्नतः आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको हो ।  हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी हो पाकिस्तानको हबिब बैंक लिमिटेड । बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेसँगै हिमालयन बैंकबाट बाहिरिने पक्का भएको हो । यद्यपी सेयर खरिद कसले गर्ने भन्ने निधो भइसकेको भने छैन ।  हबिब बैंकले हिमालयनमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गरी लिन पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्नेछ । सोही व्यवस्था अनुसार उक्त सेयर खरिदका लागि हिमालयन बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् ।  तर, ३५ दिनभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।  विगतमा पनि हबिबले सेयर बिक्रीमा लागि थुप्रै प्रयास गरेको थियो । तर, राष्ट्र बैंकले अनुमति नदिँदा सेयर बिक्री गरेर हबिब हिमालयनबाट बाहिरिन सकेको थिएन । साथै, विगतमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले उक्त सेयर खरिद गर्ने चर्चा पाएको थियो । 

सेयर बजारमा १२ अर्बको कारोबार, पियोर इनर्जीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६५५ बिन्दुमा झरेको छ ।  आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ ।  बिहीबार ३११ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादी गुप्रको १ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सानिमा माइ हाइड्रोको ७५ करोड, राधी विद्युत कम्पनीको ५४ करोड, युनिभर्सल पावर कम्पनीको ४८ करोड र बुटवल पावर कम्पनीको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।