बढेरै बन्द भयो नेप्से, एभरेष्ट बैंकको सेयरमा नै खनिए लगानीकर्ता
काठमाडौं, २९ कात्तिक । आइतबार झिनो अंकले सुधार भएको नेप्से सोमबार ६ दशमलव २८ अंकले बढेको छ । कारोबारमा पनि केही सुधार देखिएको छ । यसदिन दिनभर १३१ कम्पनीका ७८ करोड बराबरको कारोबार भएको छ । विकास बैंक, जलविद्युत र अन्य बाहेक बाँकी उपसुचकहरु पनि यसदिन बढेको छ । बैकिङ ८ दशमलव ९४ अंकले, होटल ७ दशमवल शुन्य ९ अंकले, फाइनान्स ७ दशमलव ६२ अंकले, विमा ४३ दशमलव २५ अंकले र उत्पादनमूलक १२ दशमलव ५५ अंकले बढेको छ । त्यस्तै विकास बैंक ५ दशमलव २८, जलविद्युत ३ दशमलव ५६ र अन्य १ दशमलव ४५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यसदिन सवैभन्दा धेरै कारोबार हुने कम्पनीमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । बैंकको दिनभरमा १२ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ७५ लाख, शिखर इन्सुरेन्स कम्पनी ६ करोड र बैंक अफ काठमाडौं लुम्वीनी लिमिटेले चार करोडको कारोबार गरेका छन् । गरिमा विकास बैंक र अरुण फाइनान्सले करिव १० प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यस्तै नागवेली लघुवित्त विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र प्रभु इन्सुरेन्स लिमिटेडका लगानीकर्ताले धेरै कमाएका छन् । त्यस्तै गुमाउनेहरुमा साझा विकास बैंक,बेष्टर्न डेभलपमेन्ट बैंक,मुक्तिनाथ विकास बैंक र रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताहरु रहेका छन् ।
सेयर कारोबार रद्द गर्ने क्रम रोकियो, कारोबार राफसाफको झन्झट हटाउन सहयोगी
काठमाडौं २९, कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार रद्द हुने क्रम न्यून भएको छ । नेप्सेको कारोबार प्रणालीमा सेयर कारोबारको आदेश दिएपछि त्यसको राफसाफ हुनै पर्ने व्यवस्थाले रद्द गर्ने क्रम रोकिएको हो । सेयर कारोबारमा खरिदकर्ता वा बिक्रीकर्ताको कमजोरीका कारण कारोबार राफसाफ हुन नसकेमा २० प्रतिशतसम्म जरिवाना शुल्क बुझाउनु पर्ने भएकाले यसअघि कारोबारै रद्द गर्ने प्रचलन थियो । कारोबार नै रद्द गरेको अवस्थामा भने जरिवाना पनि तिर्नु पर्दैनथ्यो । पछिल्लो समयमा पूर्वाधारको विकाससँगै आदेश दिएको कारोबारको राफसाफ अनिवार्य सरह भएपछि रद्द गर्ने क्रम न्यून भएको हो । यस्तै, सेयर तथा पैसाका कारण कारोबार रद्द गर्न नपरोस् भनेर नेप्सेले ‘ट्रेड ग्यारेन्टी फण्ड’ र ‘अक्सन मार्केट’ समेत सञ्चालन गर्ने तयारी गरिरहेको छ। नेप्सेको तथ्यांकअनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १५ करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार रद्द भएको छ । सोभन्दा अघिल्लो आर्थिक वर्षको असोजसम्ममा नेप्सेले ३ करोड ५१ लाख रुपैयाँबराबरको सेयर कारोबार रद्द गरेको थियो । चालू आवको असोजसम्ममा विगतको तुलनामा निकै न्यून कारोबार रद्द गर्नु परेको नेप्सेका उपप्रबन्धक निरञ्जन फुयाँलले जानकारी दिए । “पछिल्लो समयमा कुनै पनि कारोबार रद्द गरिएको छैन,” फुयाँलले भने, “चालू आवदेखि नगन्य रूपमा रद्द भएको छ ।” अन्तरराष्ट्रिय रूपमा पनि कारोबार रद्द गर्ने चलन नरहेको फुयाँल बताउँछन् । नेप्सेले कारोबार रद्द गर्नुपर्ने कारणलाई विस्तृत अध्ययन गरेर काम गर्न थालेकाले रद्द गर्ने क्रम रोकिएको हो । “म्यानुअल इन्ट्री इररलाई मात्र क्षमा दिने गरिएकाले कम भएको हो,” उनले भने, “अर्डर पेस गरेपछि त्यो कारोबार सम्पन्न हुनुपर्छ भन्ने नेप्सेको मान्यता हो ।” पछिल्लो सातादेखि नेप्सेले सेयर कारोबार रद्द गर्न छाडेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए । “यो अन्तरराष्ट्रिय अभ्यासमा प्रचलनमा छैन,” उनले भने, “कारोबार राफसाफको झन्झट हटाउन सहयोग गर्छ ।” कारोबार दैनिक ।
सगरमाथा फाइनान्सलाई ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति
काठमाडौं, २६ कात्तिक । नेपाल धितोपत्र बोर्डले सगरमाथा फाइनान्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि फाइनान्सको १०ः८ अर्थात् ८० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले २९ लाखको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डले कम्पनीलाई प्रति कित्ता १ सय रुपैयाँका दरले २९ करोड ५४ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो । कम्पनीले एनआइबिएल क्यापिटल माक्रेटस्लाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ९२ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात बैंकको पूँजी ६४ करोड ४७ लाख रुपैयाँ पुग्ने छ ।