विदेशी विद्यार्थी नेपाल भित्र्याउन इक्यान र आइप्यानबीच सहकार्य
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र (हब) तथा अध्ययन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)बीच रणनीतिक समझदारी (एमओयू) भएको छ । सोमबार सम्पन्न समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउने, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण प्रवर्द्धन गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्न सहकार्य गर्ने भएका हुन् । समझदारीपछि इक्यानका सदस्य संस्थाले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थामा सञ्चालन हुने कार्यक्रम, अध्ययनका अवसर, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति तथा करियरसम्बन्धी जानकारीमा प्रत्यक्ष पहुँच पाउनेछन् । यसबाट विद्यार्थी र अभिभावकले थप विश्वसनीय र अद्यावधिक शैक्षिक परामर्श सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । समझदारीले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई पनि सशक्त बनाउने लक्ष्य राखेको छ । दुवै संस्थाले क्षमता अभिवृद्धि, अन्तरक्रिया, नीति संवाद, अन्तर्राष्ट्रिय सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत संयुक्त कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् । यस्तै, सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउन पनि सहकार्य गरिने जनाइएको छ । दुवै संस्थाले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यसमेत विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
नर्सिङ कार्यक्रम पुनः सञ्चालन गर्ने बाटो खुल्यो, थप २ हजार विद्यार्थीले पढ्न पाउने
काठमाडौं । झण्डै ६ वर्षदेखि रोकिएको नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ । एक सय वा त्योभन्दा माथि बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम पुनः सञ्चालन गर्न पाउने भएका हुन् । सोमबार सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको छ । जुन पहिले नै उच्च अदालत पाटनले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको फैसला गरिसकेको थियो । तर, उक्त फैसला कार्यान्वयन नभएपछि चिकित्सा शिक्षा आयोगका पूर्वसदस्य डा. पदम खड्काले फैसला कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएका थिए । उक्त निवेदनमा सोमबार निर्देशनालयले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको हो । जस अनुसार अब एक सय वा त्योभन्दा माथि बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने छन् । निर्देशनालयको यो निर्देशनसँगै थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउनेछन् । आयोगले ३० साउन २०७७ मा गरेको निर्णयमार्फत एउटै संस्थाले बीएन, बीएस्सी वा एमएनमध्ये एउटा मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेपछि धेरै संस्थामा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो । चिकित्सा शिक्षा ऐनमा नभएको व्यवस्था कार्यकारी समितिबाट लागू गरिएको आरोप लगाउँदै आयोगको निर्णय खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट परेको थियो । अदालतले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको गत वर्ष फैसला गरेको थियो ।
होटल संघ नेपाल–बागमती प्रदेशको तदर्थ अध्यक्षमा राम सुन्दर बके
काठमाडौं । होटल संघ नेपाल (हान) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ । संघको असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरिएको हाे । संघले बकेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरेको छ । हानको विधान तथा कार्यविधिअनुसार बागमती प्रदेशअन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूको सहभागितामा प्रदेश समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली संघको सचिवालयमा उपलब्ध गराउन पनि पत्रमार्फत अनुरोध गरेको छ । त्यस्तै प्रदेशस्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायिक हित संरक्षण तथा संघको सुदृढीकरणमा बकेज्युको नेतृत्वले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा हानले गरेको छ ।