काठमाडौं । झण्डै ६ वर्षदेखि रोकिएको नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ । एक सय वा त्योभन्दा माथि बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम पुनः सञ्चालन गर्न पाउने भएका हुन् ।
सोमबार सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
जुन पहिले नै उच्च अदालत पाटनले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको फैसला गरिसकेको थियो । तर, उक्त फैसला कार्यान्वयन नभएपछि चिकित्सा शिक्षा आयोगका पूर्वसदस्य डा. पदम खड्काले फैसला कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएका थिए । उक्त निवेदनमा सोमबार निर्देशनालयले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
जस अनुसार अब एक सय वा त्योभन्दा माथि बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने छन् ।
निर्देशनालयको यो निर्देशनसँगै थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउनेछन् । आयोगले ३० साउन २०७७ मा गरेको निर्णयमार्फत एउटै संस्थाले बीएन, बीएस्सी वा एमएनमध्ये एउटा मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेपछि धेरै संस्थामा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो ।
चिकित्सा शिक्षा ऐनमा नभएको व्यवस्था कार्यकारी समितिबाट लागू गरिएको आरोप लगाउँदै आयोगको निर्णय खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट परेको थियो । अदालतले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको गत वर्ष फैसला गरेको थियो ।