साउनदेखि काठमाडौंमा चल्नेछन् ८ ब्लूबस, महिलालाई निःशुल्क

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा साउन १ गतेदेखि ‘ब्लु बस’ सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा साझा यातायातका ८ वटा बसलाई ब्लु बसमा रुपान्तरण गरेर काठमाडौंका विभिन्न रुटहरूमा महिला लक्षित विद्युतीय बस सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।  साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुपेन्द्र अर्यालका अनुसार यी बसहरू सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने गरी बजेट विनियोजन भइसकेको छ । रुट र सञ्चालन खर्च साझाले कुल ८ वटा बसमध्ये ४ वटा चक्रपथ अर्थात् रिङ रोडमा र बाँकी ४ वटा क्रस-रुटहरूमा सञ्चालन गर्ने योजना बनाएको छ । जसमा लगनखेल-बुढानीलकण्ठ रुटमा दुई र एयरपोर्ट-नागढुंगा रुटमा दुई वटा बस सञ्चालन गरिने बताइएको छ । अर्यालका अनुसार एउटा विद्युतीय बस सञ्चालन गर्न दैनिक १० देखि १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जुन इन्धनबाट चल्ने बसको तुलनामा कम हो । इन्धन बसको खर्च दैनिक १५ देखि १६ हजार रुपैयाँसम्म हुने गर्दछ ।  हालका लागि विद्युतीय बसलाई नै प्राथमिकता दिइएको उनले बताए । बस सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट विनियोजन भई स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त हुनासाथ नेपाल सरकार र साझा यातायातबीच समझदारी पत्रमा हस्ताक्षर हुनेछ । अर्यालका अनुसार साउन महिनाभित्रै यी बसहरू सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको छ । आधिकारिक पत्र प्राप्त भएपछि बसको कलरिङ, रुट पर्मिट र प्राविधिक तयारीका लागि थप १०/१५ दिन लाग्ने बताइएको छ । निःशुल्क यात्रा र प्रविधि यी बसहरूमा महिलाहरूका लागि निःशुल्क यात्राको व्यवस्था गरिने छ । डिजिटल टिकटिङ प्रणालीअनुसार महिला यात्रुहरूलाई शून्य दर को टिकट दिइनेछ, जसले गर्दा कति यात्रुले यात्रा गरे र कुन समयमा चाप बढी हुन्छ भन्ने तथ्याङ्क संकलन गर्न सहज हुनेछ । सुरक्षाका लागि साझाका सबै बसमा ड्यास क्याम र क्यामेराहरू जडान गरिसकिएको र ती क्यामेराहरूलाई कन्ट्रोल रुमबाट सिधैं निगरानी गर्न सकिने अर्यालले जानकारी दिए ।  कार्यविधि र जनशक्ति महिला लक्षित भनिए पनि बच्चाबच्ची र महिलासँगै आउने पुरुषका हकमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । यसका लागि छुट्टै कार्यविधि बनाइने अर्यालले बताए ।  उनले भने, महिला मात्रै चढाउने कि अरुलाई पनि समेट्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ, यसलाई कार्यविधिमार्फत औपचारिक रूप दिइनेछ । यसैगरी, यी बसहरू चलाउने चालक र सह-चालकहरूलाई विशेष अभिमुखीकरण  तालिम दिइनेछ ।  साझाले सम्भव भएसम्म महिला चालक र सह-चालकलाई नै प्राथमिकता दिने सोच बनाएको भए पनि पर्याप्त संख्यामा महिला जनशक्ति उपलब्ध नहुँदा केही चुनौती रहेको सिइओ अर्यालको भनाइ छ । सरकारले ल्याएको शासकीय सुधार सम्बन्धी सय बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने भनिएको छ ।  शासकीय सुधारको ९७ औं बुँदामा पहिलो चरणमा सय दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ । नयाँ बस खरिद गर्दा समय लाग्ने भएकाले सञ्चालन रहेकै बसलाई ब्लु बसको रुपमा चलाउन लागिएको जनाइएको छ ।  यो सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत अघि बढाइएको कार्यक्रम हो । 

भारत र नेपालबीचको डिजिटल भुक्तानी थप सहज बनाउँदै सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भारत–नेपालबीच रियल टाइम पर्सन–टु–पर्सन (पी–टु–पी) भुक्तानी सेवा सुरु गरेको छ । बैंकका अनुसार नयाँ सेवामार्फत दुई देशबीच सुरक्षित, तत्काल र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिनेछ । यस सेवामा भारत र नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) र युपिआई आईडी प्रयोग गरेर रकम आदानप्रदान गर्न सक्नेछन् । नेपाली प्रयोगकर्ताले भीपीएमार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले युपिआई आईडी प्रयोग गरेर भारत–नेपालबीच रकम पठाउन र प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवाले सीमापार भुक्तानी प्रक्रियालाई थप सरल, सुरक्षित र सहज बनाउनेछ । साथै विद्यार्थी, पेशाकर्मी, यात्रु तथा भारत–नेपालबीच नियमित आर्थिक कारोबार गर्ने परिवारका लागि परम्परागत रेमिट्यान्स प्रणालीको आधुनिक विकल्प बन्ने अपेक्षा गरिएको छ । सानिमा बैंकले हाल देशभरका सातै प्रदेशमा रहेका १३४ शाखा र १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले सुरक्षित र नवीन डिजिटल बैंकिङ समाधान विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

अब घरमै बसेर राष्ट्रिय वाणिज्य बैंकको कर्जाका लागि आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई घरमै बसेर कर्जाका लागि आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको सुशासन तथा नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनाको मर्मअनुसार ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको जनाएको छ । बैंकका अनुसार कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा र अन्योल हटाउन डिजिटल माध्यमबाटै कर्जा आवेदन दिन सकिने व्यवस्था गरिएको हो । यसबाट कर्जा प्रक्रिया थप छिटो, सहज, झन्झटरहित र पारदर्शी हुने अपेक्षा गरिएको छ । कर्जा आवेदन दिन बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘कुइक एसेस’ अन्तर्गतको ‘अनलाइन लोन एप्लिकेसन’ मा क्लिक गरी ‘आरबीबी एक्समार्ट लेन्डिङ डिजिटल लोन पोर्टल’ मा प्रवेश गर्नुपर्नेछ । त्यसपछि इमेल, युजरनेम र पासवर्ड प्रयोग गरी दर्ता गर्नुपर्नेछ। आवश्यक व्यक्तिगत विवरण भरेर आवेदन पेस गरेपछि ग्राहकले आवेदनको जानकारी प्राप्त गर्नेछन् । साथै, ‘ट्र्याक प्रोग्रेस’ विकल्पमार्फत आफ्नो आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ । ग्राहकको सहजताका लागि अनलाइन कर्जा आवेदन पोर्टलको क्यूआर कोडसमेत उपलब्ध गराइएको छ । पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा फैलिएका ३१६ शाखामार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।