विश्वनिकेतन विद्यालयमा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाको संयुक्त अवलोकन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मीत पोखरेल तथा नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त अवलोकन गरेका छन् । एडीबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण गरिएका विद्यालय भवन, विज्ञान प्रयोगशाला (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उनीहरूले निरीक्षण गरेका हुन् । अवलोकनका क्रममा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाले शिक्षकहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोड्युलको पाइलट कार्यक्रम पनि संयुक्त रूपमा शुभारम्भ गरे । शिक्षा तथा खेलकुद मन्त्रालय र एडीबीको प्राविधिक सहकार्यमा विकास गरिने उक्त अनलाइन तथा स्व-अध्ययन (सेल्फ–लर्निङ) आधारित तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान, डिजिटल सीप तथा आधुनिक शिक्षण प्रविधिबारे दक्ष बनाइने जनाइएको छ । कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालय शिक्षाको डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा र गुणस्तरीय शिक्षाको विस्तारमा आगामी दिनमा पनि सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे । मन्त्रालयका अनुसार एडीबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, शिक्षा सुधार तथा क्षमता विकासका विभिन्न कार्यक्रममार्फत एडीबीले लामो समयदेखि सहयोग गर्दै आएको छ ।
भोला थापाले सम्हाले त्रिभुवन विश्वविद्यालयको कार्यभार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा.डा. भोला थापाले सोमबार (आज) देखि कार्यभार सुरु गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ (२) बमोजिम गठित समितिको सिफारिसअनुसार सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम यही असार १९ गतेको निर्णायानुसार थापालाई नियुक्त गरेका हुन् । काठमाडौं विश्वविद्यालयको उपकुलपति समेत रहिसक्नुभएका प्रा.डा. थापाले नेपालमा उच्च शिक्षा र अनुसन्धानको विकासमा उल्लेखनीय योगदान पु¥याएका छन् । ्काठमाडौं विश्वविद्यालयमा रजिष्ट्रार र इन्जिनियरिङ सङ्कायका डीनसहित थुप्रै महत्त्वपूर्ण नेतृत्वदायी पदहरूमा रहेर उत्कृष्ट योगदान गरिसक्नुभएका नवनियुक्त उपकुलपति प्रा.डा. थापाले हाइड्रोलिक मेसिनरी र ऊर्जा प्रणाली क्षेत्रमा दक्ष विद्वानको समेत ख्याति प्राप्त गरेका छन् । उपकुलपति थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीवाट विद्यावारिधि गरेका हुन् ।कीर्तिपुरमा पदभार ग्रहण कार्यक्रममा उनले भौतिक तथा मानविय स्रोत/साधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोगमार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा. सुशीलबहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा.डा. शङ्करप्रसाद खनाल एवं निमित्त रजिष्ट्रार प्रा.डा. महानन्द चालिसेलगायत विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, महाशाखाका प्रमुखहरुलगायत प्राध्यापक, कर्मचारीका साथै विद्यार्थीहरु समेत सहभागी थिए ।
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथि सांसदहरूले राखेको जिज्ञासाको जवाफमा उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिइन् । मन्त्रालय तथा मातहतका निकायका लागि ९६ अर्ब ३७ रुपैयाँ करोड ७३ लाख बजेट विनियोजन गरिएको उनले उल्लेख गरिन् । 'स्वास्थ्यमा गरिएको लगानी खर्च होइन, यो देशको भविष्य र मानव पुँजी निर्माणमा गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो', मन्त्री मेहताले भनिन्, 'नागरिकको उपचार खर्चको आर्थिक भार कम गर्दै स्वस्थ नागरिकमार्फत उत्पादकत्व अभिवृद्धि गरी दिगो विकास गर्न स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नु आवश्यक छ ।' संविधानप्रदत्त मौलिक हक कार्यान्वयन गर्न ‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति’ ले निर्धारण गरेको १० प्रतिशतको लक्ष्य हासिल गर्नेतर्फ सरकार प्रयासरत रहेको उनको कथन छ । आगामी आर्थिक वर्षहरूमा स्वास्थ्य बजेटलाई क्रमिक रूपमा वृद्धि गर्दै यसलाई व्यावहारिक कार्यान्वयनको दिशामा लैजाने मन्त्री मेहताले उल्लेख गरिन् । उनले १०९ स्थानीय तहका आधारभूत अस्पताल निर्माण सम्पन्न भइसकेको र ३३६ वटा निर्माणका क्रममा रहेको जानकारी दिइन् । अन्य स्थानीय तहमा नक्साङ्कन गरी रणनीतिक स्थानमा निर्माण गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । निर्माण सम्पन्न भएका आधारभूत अस्पतालमा स्वास्थ्य सेवा सञ्चालन गर्नु तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उनको भनाई छ । आधारभूत स्वास्थ्य सेवाको प्याकेजलाई एकीकृत रुपमा सञ्चालन गर्ने गरी आगामी वर्षको कार्यक्रममा बजेट उपलब्ध गराइएको उनको भनाइ छ । नागरिकलाई निःशुल्क वितरण गरिने अत्यावश्यक औषधि स्वदेशमा उत्पादन गर्ने तयारी स्वरूप मन्त्रालयले नेपाल औषधि लिमिटेडसँग सहकार्य गरी सिधैँ खरिद गर्ने व्यवस्था अघि बढाइएको उनले बताइन् । यस्तै सिंहदरबार वैद्यखानाको संस्थागत क्षमता अभिवृद्धिका लागि पनि सात करोड ६० लाख रुपैयाँ बराबरको बजेट व्यवस्था गरिएको उनले जानकारी दिइन् । सरकारले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले २३ अर्ब रुपैयाँ बढी भुक्तानी भइसकेको छ भनिन् । बाँकी दाबी भुक्तानीका गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्री मेहताको कथन छ । स्वास्थ्य सेवामा सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने र सेवा प्रवाहलाई सहज बनाइने उहाँको भनाई छ । निजी अस्पतालले आफ्नो स्वीकृत शैया संख्याको १० प्रतिशत निःशुल्क उपचारका लागि उपलब्ध गराउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन भइरहेको मन्त्री मेहताले जानकारी दिइन् । सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति, सेवाप्रतिको आचरण, सरसफाइ तथा सेवा गुणस्तर सुनिश्चितता गर्न सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गरिएको उनले सदनलाई जानकारी दिइन् ।