चिनिया इलेक्ट्रोनिक्स कम्पनी साओमीले एप्पलको जस्तै ल्यापटप ल्याउँदै
काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमिले अब ल्यापटप पनि बनाउने भएको छ। कम्पनीले बुधवार एक समारोहकावीच ल्यापटप सार्वजनिक गरेको हो। यद्यपि चीनमा अगस्ट २ मा सार्वजनिक हुने यो ल्यापटप विश्वमा कुन समयमा पाइन्छ भनेर सार्वजनिक गरिएको छैन्। कम्पनीले विश्वको इलेक्ट्रोनिक्स बजारलाई रिसर्च गरेर प्रिमियम मूल्यमा ल्याएको जनाएको छ। १३.३ इन्चको डिस्प्ले भएको ‘एमआई नोटबुक एयर’ नामको यो ल्यापटपमा विन्डोज १० अपरेटिङ सिस्टम राखिएको छ। चीनमा यसको मूल्य पाँचहजार युआन तोकिएको छ। कम्पनीले अझ सस्तोमा सिम्प्लिफाइड भर्सनका रुपमा तीनहजार पाँचसय युआनमा पनि पाइने बताएको छ। एप्पलको जस्तै लुक्स देखिने यो ल्यापटप लेनोभो डेल एचपी लगायतका कम्पनीका ल्यापटपको जस्तै स्पेसिफिकेसन रहेको कम्पनीले जनाएको छ। कम्पनीले सवैभन्दा धेरै स्पेसिफिकेसन भएको, टिकाउ र कम मूल्य भएको ल्यापटप भनेर चिनाउने जनाएको छ। शाओमिले चाँडै नै कम मूल्य पर्ने रेडमी स्मार्टफोन पनि सार्वजनिक गर्ने जनाएको छ। मिडिया टेक्स फ्लागसिप प्रोसेसर हिलियो एक्स २५ भएको यो स्मार्टफोनलाई १५ सय युआन र दुइहजार युआनका वीच विक्रि गर्ने कम्पनीले जनाएको छ।
एनसेलको सहयोगमा डे केयर डायलाईसिस सेन्टरको निमार्ण सम्पन्न
काठमाडौं, १३ साउन । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण सम्पन्न भएको छ । यसले टिचिङ् हस्पिटललाई मृगौला सम्बन्धि रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ । मृगौला सम्बन्धि स्वास्थ्य समस्या दिनानु दिन बढि रहेको अवस्थामा सर्वसाधारणलाई मृगौला सम्बन्धि रोगको उपचार देश भित्रै सहज बनाउन योगदान पुर्याउने उदेश्य लिई एनसेलले सन् २०१४ मा देशको अग्रणी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको थियो । नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मशिनहरु राख्न सकिने क्षमता छ र सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ । “यो सेन्टरको संचालनले मृृगौला सम्बन्धि स्वास्थ्य सेवामा मानिसहरुको पहुँच वृद्धि गर्नमा योगदान गर्नेछ । मृगौलाको उपचार सहज बनाउने राट्रिष्य नीति अनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ,” त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलका उपनिर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गले बताए । “यसकोे संचालनबाट थप बिरामीहरुलाई उपचार प्रदान गर्दै लाभ प्रदान गर्नका लागि हामीले नयाँ डायलाईसिस मशिनहरु जडान गर्नु पर्नेछ ।” हाल टिचिङ् हस्पिटलले आफ्नो डे केयर डायलाईसिस युनिटमा संचालनमा रहेको तीन वटा डायलाईसिस मशिनहरुबाट दैनिक २५ देखि ३० जनालाई डायलाईसिस सेवा प्रदान गर्दै आएको छ । डा. खड्गका अनुसार सेवाको क्षमता अभिवृद्धि गर्ने योजना अन्तर्गत हस्पिटलले चाँडै नै थप चार वटा डायलाईसिस मशिनहरु जडान गर्ने क्रममा रहेको छ । एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्ल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो । यसका लागि रु १ करोड ५० लाखको आर्थिक सहयोग प्रदान गरिएको थियो । १६ वटा डायलाईसिस मशिन जडान गर्न सकिने पुर्वाधार र डायलाईसिस मशिन संचालानार्थ अतिआवश्यक आरओ वाटर टिट्रमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामी मैत्री लिफ्ट पनि जहान गरिएको छ । मृगौला सम्बन्धि रोग एक प्रमुख समस्याका रुपमा देखा परेको छ । आंकडा अनुसार देशको कुल जनसंख्याको झण्डै ९ देखि १० प्रतिशत मानिसहरु मृगौला सम्बन्धि रोगबाट ग्रसित छन् र ती मध्ये ९० प्रतिशतको दुवै मृगौलाले काम नगर्ने रोगबाट पीडित छन् । परिणाम स्वरुप मृगौला डायलाईसिस सेवाको माग एकदमै बढिरहेको छ । सरकारले पनि बिरामीलाई डायलाईसिस सेवा निःशुल्क उपलब्ध गराउने नीति अबलम्बन गर्दै आएको छ । “मृगौला सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्नका निमित्त आवश्यक आधारभुत भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा हामी एकदमै हर्षित छौ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । “हामीलाई आशा छ यसले हस्पिटललार्ई सरकारको योजना अनुरुप बिरामीहरुलाई अति आवश्यक मृगौला उपचार सम्बन्धि सेवा प्रदान गर्नमा मद्दत गर्ने छ ।” एनसेलले आफ्नो व्ययसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम ‘वी केयर’ अन्तर्गत टिचिङ् हस्पिटललाई यो सहयोग प्रदान गरेको थियो । उक्त कार्यक्रम अन्र्तगत, कम्पनीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि विश्वस्तरिय कार्डियोथोरासिक इन्टेन्सिभ केयर युनिट (आईसियु) स्थापना गर्न सहयोग गरेको छ ।
लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या
काठमाडौं, १३ साउन । केही दिनयता लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या देखिएको छ । मौसम बदलीसँगै मुलुकभर जारी वर्षात्ले अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या आएको छैन । तर हिमाली तथा पहाडी क्षेत्रको उडान भने प्रभावित भएको छ । मौसम खरावीले खासगरी पूर्वी पहाडी र पश्चिमका केही विमानस्थलमा उडान सामान्य प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सञ्चालन भइरहेका छन् । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार वर्षाले आन्तरिकतर्फ नियमित उडान केही प्रभावित भएको छ । पहाडी भेगका सोलुखुम्बु, भोजपुर, ताप्लेजुङलगायतका गन्तव्यमा भने उडानमा केही समस्या आएको छ । यता मौसम पूर्वानुमान महाशाखाले पनि पूर्वी पहाडी भेगबाहेक अन्य स्थानमा भिजिबिलिटी राम्रो रहेको र उडानमा समस्या नरहेको जनाएको छ । मौसमविद् सुवास रिमालले पूर्वका ताप्लेजुङ, ओखलढुङ्गा आदि स्थानमा बदली भई बाक्लो कुहिरो लागेकाले समस्या हुनसक्ने र अन्य स्थानमा भने सामान्य रहेको बताए । विमानस्थलका अनुसार आन्तरिकतर्फ आठ र अन्तर्राष्ट्रियतर्फ २६ वटा एयरलाइन्सले उडान भर्दै आएका छन् । रासस