टेलिकमको सामाजिक सञ्जाल ‘मिट’मा प्रयोगकर्ता ४६ हजार पुगे
काठमाडौं १७ साउन। औपचारिक सेवा सुचारु गरेको ७ महिनामा नेपाल टेलिकमको सामाजिक सञ्जाल मिटका प्रयोगकर्ता उल्लेख्य रुपमा बृद्धि भएका छन्। गत माघदेखि टेलिकमले मिटको औपचारिक सुरुवात गरेको थियो। अहिलेसम्म मिटमा ४६ हजार भन्दा धेरै प्रयोगकर्ता भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन। लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको गत पुषमा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए। नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउन युनिफाइड कम्युनिकेशन सिस्टम (UCS) को रुपमा विकास गर्न यो सेवा ल्याएको हो। टेलिकमका ग्राहकले आफ्नो जीएसएम वा सिडिएमए मोबाइलमार्फत मिटको सुविधा लिन सक्छन्। टेलिकमले युसिएसमार्फत् ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिएको छ। त्यस्तै एक पटकमा धेरै संख्यामा एसएमएस पठाउन बल्क एसएमएसको पनि पठाउन मिल्छ। यसमा म्यासेजको क्यारेक्टर संङ्ख्या एक सय ६० वाट बढाएर तीनसय २० पुर्याएको टेलिकमले जनाएको छ । विस्तृत कार्ययोजना र लक्ष नबनाइकन आएको यो सञ्जालले अहिलेसम्म सामाजिक सञ्जाल प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न सकेको छैन। निशुल्क मेसेजको सुविधा पाउँदा पनि यो सञ्जालको खासै प्रयोग भएको छैन। यसले कम्पनीका सेवाग्राहीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ। सो सञ्जालबाट कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तक्रिया समेत गर्न सकिन्छ। टेलिकमले दश करोड २० लाख कुल लगानीमा सुरु गरेको यो सञ्जालमा दिनहुँ प्रयोगकर्ता बढिरहेका छन्। ‘औषतमा दैनिक दुइसय ५० प्रयोगकर्ता थपिन्छन्’ प्रवक्ता वैद्यले भनिन् ‘अझै परिष्कृत गरेर प्रयोगकर्ता थप्ने र सेवा विस्तार गर्ने योजना रहेको छ।’
भिटोफ अध्यक्षमा सापकोटा
काठमाडौं, १७ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ–नेपाल)को अध्यक्षमा कमल सापकोटा निर्वाचित भएका छन् । २० औं गाउँ पर्यटन दिवसका आयोजित भिटोफको सम्मेलनले आगामी दुई वर्षे कार्यकालको सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । भिटोफको प्रथम उपाध्यक्षमा राम घले, द्धितिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्याल पनि निर्विरोध निवाचित भएका छन् । दुई जना मनोनितसदस्य भने निवाचित कार्यसमितीले गर्ने प्रावधान रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले १० वर्षे पर्यटन रणानीतिलाई निरन्तरता दिने बताएका थिए । मन्त्री पोखरेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको १० वर्षे पर्यटन रणनीतिलाई निरन्तरता दिन नयाँ बन्ने सरकारलाई आग्रह पनि गरेका थिए । १० वर्षमा कम्तीमा २३ लाख पर्यटक नेपाल भित्र्¥याउने रणनीतिका साथ सरकारले पर्यटन रणनीति सार्वजनिक गरेको भन्दै यसलाई कुनै दल र पार्टी विशेषको कार्यक्रमको रुपमा नलिई देशकै हितका लागि आएको कार्यक्रमका रुपमा बुझ्नु पर्ने उनको भनाई थियो ।
एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’, रु २०० मा ४०० मिनेट अननेट टक टाइम
काठमाडौं, १६ साउन । देशकै अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । जस अन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले कर सहित मात्र रु २०० मा ४०० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । अर्थात्, यो प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र ५० पैसा प्रति मिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्छन् । मासिक भ्वाईस प्याक यहि सोमबार (साउन १७, २०७३) देखि स्थायी सेवाको रुपमा लागु हुनेछ। एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआर मार्पmत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् । “हाम्रा प्रिपेड ग्राहकका लागि प्रति मिनेट ५० पैसामा कुरा गर्न सकिने यो मासिक भ्वाईस प्याक ल्याउन पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्घता अनुरुप यो प्याक ल्याइएको होे ।” ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् । यो प्याक सुचारु भएको दिनबाट ३० दिनको लागी मान्य हुनेछ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ । यो प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिन्छ । सुलभ दरमा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिवद्धता बमोजिम एनसेलले दैनिक भ्वाईस प्याक, साप्ताहिक भ्वाईस प्याक, डेली नाईट भ्वाईस प्याक र डे भ्वाईस प्याक पनि ग्राहकलाई प्रदान गर्दै आएको छ । ग्राहकहरुले १७११८ डायल गरी भ्वाइस प्याकको बारेमा जानकारी लिन सक्छन् ।