चियामा भेटियो स्वास्थ्यलाई हानी गर्ने कृत्रिम रङ, उत्पादन रोक्न विभागको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरण भइरहेको चियामा मानव स्वास्थ्यलाई असर पुऱ्याउने कृत्रिम बाह्य रङको मिसावट पाइएको भन्दै सम्बन्धित उद्योगका उत्पादन रोक्का गरी थप अनुसन्धान अघि बढाएको छ ।   

विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा कृत्रिम बाह्य रङ प्रयोग भएको पुष्टि भएको जनाएको छ । 

सो पश्चात् विभागले गत असोज ८ गते नै सम्बन्धित व्यवसायीलाई ती चिया बजारबाट फिर्ता गर्न आदेश दिइसकेको छ । हाल उक्त उद्योगका अन्य उत्पादनहरूसमेत रोक्का राखेर अनुसन्धान भइरहेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै सम्पूर्ण चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री९वितरकहरूलाई चियामा कृत्रिम रङ वा अन्य कुनै पनि प्रकारको मिसावट नगर्न कडा निर्देशन दिएको छ ।   

यदि निर्देशन विपरीत चियामा अखाद्य वा कृत्रिम वस्तु मिसावट गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को कानूनी व्यवस्था बमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

Share News