कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक, पाँच लाखभन्दा बढीले पाए एनसी आईडी

काठमाडौं । नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यहरूको अद्यावधिक प्रक्रिया सम्पन्न भएको छ । पार्टीले वैशाख १ गतेदेखि सुरु गरेको अद्यावधिक अभियान जेठ २८ गते मध्यरातमा समाप्त भएको कांग्रेसले जनाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालीसेका अनुसार गत पुससम्म नवीकरण तथा नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूको विवरण सङ्कलन गरी अद्यावधिक गरिएको हो । अद्यावधिकका लागि देशभर ७ लाख ८२ हजार २०९ जना क्रियाशील सदस्य योग्य रहेका थिए । हालसम्म ५ लाख ३८ हजार ६२२ जना सदस्यले वडास्तरबाट आफ्नो विवरण अद्यावधिक गराई एनसी आईडी प्राप्त गरिसकेको प्रवक्ता चालीसेले जानकारी दिए । चालीसेका अनुसार १ लाख ४९ हजार ३०९ जनाले क्रियाशील सदस्यता अद्यावधिकका लागि आवेदन दिइसकेका भए पनि उनीहरूले एनसी आईडी प्राप्त गर्न बाँकी रहेको छ । कांग्रेस प्रवक्ता चालीसेका अनुसार एनसी आईडी प्राप्त नगरेका सदस्यहरूले आगामी असोजमा हुने पन्ध्रौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन पाउने छैनन् । पार्टी प्रवक्ता चालीसेका अनुसार केही हिमाली जिल्लाका सदस्य तथा विदेशस्थित जनसम्पर्क समिति अन्तर्गत रहेका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्यलाई थप व्यवस्थित र सहजीकरण गरिनेछ । भौगोलिक तथा प्राविधिक कारणले समयमै प्रक्रिया पूरा गर्न नसकेका क्षेत्रहरूको विवरण समेत समेट्ने तयारी गरिएको कांग्रेसले जनाएको छ । यसका लागि प्राप्त भएका तथ्याङ्कलाई फिल्टरेसन गर्ने कार्य भइरहेको चालीसेले जानकारी दिए । यसैबीच, नयाँ क्रियाशील सदस्यता प्राप्त गर्न इच्छुक व्यक्तिहरूका लागि अनलाइन आवेदन प्रणाली खुला गरिएको कांग्रेसले जनाएको छ । चालीसेका अनुसार नयाँ सदस्यताका लागि अनलाइनमार्फत निरन्तर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । क्रियाशील सदस्यहरूको डिजिटल अभिलेखीकरण, एनसी आईडी प्रणाली र अद्यावधिक अभियानलाई कांग्रेसले पन्ध्रौँ महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारीको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ । 

महाधिवेशनअघि रास्वपाको वैचारिक खाका सार्वजनिक

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअघि पार्टीको राजनीतिक दर्शन र वैचारिक मार्गदर्शनका लागि सात आधारभूत स्तम्भ तय गरेको छ । महाधिवेशनमा प्रस्तुत गरिने विधानको मस्यौदामार्फत रास्वपाले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समावेशितालाई केन्द्रमा राख्दै आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट पारेको हो । प्रस्तावित विधानमा रास्वपाले पहिलो आधारका रूपमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन लाई अघि सारेको छ । वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूतिसहित बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तथा विधिमा आधारित जवाफदेही र सुशासित राज्य व्यवस्था निर्माण गर्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ । दोस्रो आधारका रूपमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्र लाई समेटिएको छ । समतामूलक विकासप्रति प्रतिबद्ध रहँदै सामाजिक न्याय सुनिश्चित गर्ने, उदार अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने तथा प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्थाको अभ्यास गर्ने नीति विधानमा उल्लेख गरिएको छ । रास्वपाले तेस्रो वैचारिक आधारका रूपमा संवैधानिक समाजवादलाई परिभाषित गरेको छ । शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत समाजवादका मूल लक्ष्य हासिल गर्दै राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालन गर्ने प्रतिबद्धता प्रस्तावित विधानमा समावेश गरिएको छ । चौथो आधारमा समन्यायिक समावेशिता लाई जोड दिइएको छ । अवसर, पहुँच र स्रोत–साधनको न्यायोचित वितरणमार्फत लैंगिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेद अन्त्य गर्दै समावेशी समाज निर्माण गर्ने लक्ष्य पार्टीले लिएको छ । त्यसैगरी पाँचौं आधारका रूपमा योग्यता, सुशासन र सदाचार लाई प्राथमिकतामा राखिएको छ । राज्य संयन्त्रमा योग्यता, दक्षता र कर्मशीलतालाई प्रोत्साहन गर्दै भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । छैटौं आधारमा सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्वलाई समेटिएको छ । नेपालको ऐतिहासिक विरासत, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधताको सम्मान गर्दै सहअस्तित्व र पारस्परिक सम्मानको संस्कृतिलाई प्रवर्द्धन गर्ने नीति रास्वपाले अघि सारेको छ । सातौं तथा अन्तिम आधारका रूपमा उन्नत लोकतन्त्र, सुशासन र पार्टी सञ्चालनका लोकतान्त्रिक मान्यता लाई स्थापित गरिएको छ । प्रस्तावित विधानमा उल्लेख गरिएका लोकतान्त्रिक मूल्य, मान्यता र सुशासनका सिद्धान्तहरू पार्टी सञ्चालनका आधारस्तम्भ हुने तथा पार्टीका सम्पूर्ण संरचना, कार्यविधि र नीतिहरू सोही सिद्धान्तअनुसार निर्देशित हुने व्यवस्था गरिएको छ । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । महाधिवेशनमार्फत पार्टीले आफ्नो संगठनात्मक संरचनासँगै वैचारिक आधारलाई पनि औपचारिक रूप दिने तयारी गरेको छ । उक्त सात वैचारिक आधारलाई रास्वपाले आगामी राजनीतिक यात्रा र नीति निर्माणको मार्गदर्शक दस्तावेजका रूपमा अघि सारेको छ।

महाधिवेशनअघि काँग्रेसमा सहमतिको पहल तीव्र, प्रवक्ता चालिसे भन्छन् - विधान सर्वोपरि हुन्छ

काठमाडौं । नेपाली काँग्रेसले पार्टी विधानले तोकेको सीमाभित्र रहेर नेताहरूको व्यवस्थापन तथा आन्तरिक समायोजनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । महाधिवेशन नजिकिँदै जाँदा देखिएका आन्तरिक मतभेद र नेतृत्व व्यवस्थापनसम्बन्धी बहसबीच पार्टीले संवाद र सहमतिको माध्यमबाट समाधान खोज्ने संकेत दिएको हो । पूर्व प्रवक्ता प्रकाशशरण महतले हाल पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व रहने बनाउन छोटो समयका लागि साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् । उक्त प्रस्तावसँगै काँग्रेसभित्र आन्तरिक छलफल थप सक्रिय बनेको छ । यसैबीच पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीलाई सुदृढ बनाउन सबै पक्षलाई समेटेर अघि बढ्न काँग्रेस तयार रहेको बताएका छन् । तर उनले विधानविपरीत जाने कुनै पनि अतिरिक्त माग स्वीकार्य नहुने स्पष्ट पारेका छन् । विकासन्युजसँग प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले भने, 'पार्टीलाई सुदृढीकरण गर्न अर्को पक्षलाई समेट्न तयार छौँ, तर विधान मिच्ने गरी अतिरिक्त माग राख्नु हुँदैन । विधानले दिएको तहसम्म पार्टी लचक हुन्छ ।' उनका अनुसार पार्टीले विधानले निर्धारण गरेको संरचना र अनुशासनभित्र रहेर नेताहरूको समायोजन गर्ने विषयमा कुनै कञ्जुस्याइँ गर्ने छैन । तर सबै प्रक्रिया पार्टी विधान र अनुशासनको दायराभित्र मात्र हुने उनले दोहोर्‍याए । महाधिवेशनको तयारीसँगै काँग्रेसभित्र नेतृत्व, प्रतिनिधित्व र संगठनात्मक संरचनाबारे बहस चुलिएको छ । यद्यपि नेताहरूले आन्तरिक असहमति समाधान गर्दै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइरहेका छन् । यसैबीच महाधिवेशनको पूर्वसन्ध्यामा आएको सहमतिको संयन्त्र गठनको प्रस्तावले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनबारे नयाँ बहस सुरु गरेको छ । काँग्रेसले लिएको लचकता र विधानअनुसारको व्यवस्थापनको सन्देशले आगामी महाधिवेशनको राजनीतिक माहोल थप निर्णायक बन्ने संकेत देखिएको छ ।