रास्वपा लुम्बिनी सभापतिमा शालिकराम घिमिरे निर्वाचित
बुटबल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । छ जनाबीच भएको प्रतिष्पर्धामा सबैभन्दा बढी शालिकराम घिमिरेले १९९ मत प्राप्त गरेका थिए । उक्त मत ५१ प्रतिशत नपुगेपछि उनका निकटतम प्रतिष्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको मतदान गर्ने भनिएको थियो । घिमिरेले पहिलो चरणमा ८७ मत प्राप्त गरेका थिए । तर दोस्रो चरणको मतदान सुरु नहुँदै गोपालले शालिकरामलाई समर्थन गरेपछि शालिकराम सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए । पहिलो चरणको मतदानमा रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए । गए राति सम्पन्न मतदानमा ५५२ मत खसेको थियो ।
यस्तो छ असन्तुष्ट पक्षलाई कांग्रेसले पठाएको गोप्य सात बुँदे प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रुपमा पठाएको सात बुँदे सहमतीको प्रस्ताव आज सार्वजनिक भएको छ । जेठ १६ गते आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म इतर पक्षबाट कुनै जवाफ नआएपछि सार्वजनिक गरिएको हो । ‘सबैसँगै बढौं यसरी’ शीर्षकमा तयार गरिएको प्रस्तावमा विशेष महाधिवेशनपछि देखिएको राजनीतिक अवस्थालाई स्वीकार गर्दै विगतका मतभेद बिर्सेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरिएको छ । प्रस्तावको पहिलो बुँदामा पार्टी विधानको दफा १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक तथा सर्वोच्च अदालतबाट भएको अन्तिम निर्णयलाई आत्मसात गर्दै सबै विवादलाई बिर्सेर एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ । साथै विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रति असहमति भए त्यसलाई १५औं महाधिवेशनको बन्दसत्रमा मौखिक वा लिखित रूपमा राजनीतिक एजेन्डाका रूपमा उठाउन सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ । यसैगरी विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै पनि सदस्यप्रति विभेदपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता पनि प्रस्तावमा समावेश गरिएको छ । दोस्रो बुँदामा १५औं महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्यता अध्यावधिकको काम निर्धारित समयभित्र सम्पन्न गर्ने तथा यससम्बन्धी विधानमा रहेका अस्पष्टतालाई स्पष्ट पारेर अघि बढ्ने उल्लेख छ । तेस्रो बुँदामा लामो समयदेखि पार्टीमा योगदान दिएका अग्रज नेताहरूलाई केन्द्रीय समितिमा ‘वरिष्ठ नेता’ का रूपमा सम्मानजनक भूमिका प्रदान गर्ने प्रस्ताव गरिएको छ । चौथो बुँदाअनुसार विगतमा केन्द्रीय समितिमा रहेका वा नरहेका, जिम्मेवारी निर्वाह गर्न इच्छुक व्यक्तिहरूलाई सम्मानजनक रूपमा केन्द्रीय समितिमा समावेश गर्ने तथा कार्यसम्पादन समितिमा पनि उचित सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ । साथै, महाधिवेशनमा स्वतः प्रतिनिधि हुने पुरानो परम्पराको अन्त्य गर्दै केन्द्रीय समितिका सबै सदस्यले वडा तहबाटै प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि राखिएको छ । पाँचौं बुँदामा १५औं महाधिवेशन सञ्चालन गर्ने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्यको प्रस्ताव गरिएको छ । छैटौं बुँदामा केन्द्रीय समितिको अंगका रूपमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव गरिएको छ भने सातौं बुँदामा भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा काम गर्न इच्छुक नेताहरूलाई सभापति, पदाधिकारी वा उनीहरूको योग्यता र इच्छाअनुसार जिम्मेवारी प्रदान गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । उपसभापति शर्माको यो प्रस्ताव विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि अन्त्य गर्दै संवाद, सहकार्य र एकताको आधार तयार गर्ने प्रयासका रूपमा थियो ।
‘६ ज’मार्फत जनताको मन जित्ने एमालेको संकल्प
काठमाडौं । नेकपा एमालेले जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन तथा आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै मिसन जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानका लागि पार्टीले ६ ज नीति अघि सारेको छ भने संगठन विस्तारदेखि डिजिटल प्रचारसम्मका रणनीति समेटिएको ३१ पृष्ठ लामो अवधारणापत्र तयारसमेत गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अभियानको मूल आधार ६ जको नीति हुने बताए । एमालेले अघि सारेको छ जमा जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य तथा सक्षम नेतृत्व तयार गरौं भन्ने रहेको उनले जानकारी दिए । पार्टीले अभियानमार्फत जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने, संगठनलाई थप सक्रिय बनाउने र निर्वाचन केन्द्रित तयारीलाई व्यवस्थित ढंगले अघि बढाउने रणनीति लिएको छ । एमालेले विशेषगरी डिजिटल संगठन निर्माण र प्रभावकारी प्रचारलाई प्राथमिकतामा राखेको प्रचार प्रमुख आचार्यले जानकारी दिए । आचार्यका अनुसार सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्न कार्यकर्तालाई निर्देशन दिइएको छ भने अल्गोरिदम र पर्सेप्सन म्यानेजमेन्टमा विशेष ध्यान दिन पनि भनिएको छ । अभियान सफल बनाउन पार्टीका सबै केन्द्रीय सदस्यलाई स्थानीय तहको जिम्मेवारी तोकिएको छ । केन्द्रीय सदस्य नपुगेका स्थानमा अन्य नेताहरूलाई समेत खटाइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा सक्रिय छन् वा छैनन् भन्ने विषयमा नियमित अनुगमनको व्यवस्था गरिएको पार्टीले जनाएको छ । पार्टी नेतृत्वले केन्द्रबाट खटिने नेताहरूलाई होटलमा बस्नुभन्दा जनताकै घरमा बस्न र उनीहरूसँग प्रत्यक्ष संवाद गर्न आग्रहसमेत गरेको छ । यसले जनताको वास्तविक भावना बुझ्न र पार्टीप्रति विश्वास पुनः स्थापित गर्न मद्दत पुग्ने एमालेको अपेक्षा रहेको छ । आचार्यका अनुसार मिसन जागरण अभियान स्थानीय तह तथा प्रदेश निर्वाचन सम्पन्न नहुँदासम्म निरन्तर सञ्चालन हुनेछ । अभियानका लागि तयार गरिएको अवधारणापत्रमा गत निर्वाचनको समीक्षा, पार्टीले भोग्नुपरेको पराजयका कारण, कार्यकर्ता तथा जनतामा देखिएको निराशा र त्यसबाट उत्पन्न राजनीतिक प्रभावको विश्लेषण गरिएको छ । दस्तावेजमा २०७४ सालको निर्वाचनपछि वाम गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी नेकपा गठनबाट उत्साहित बनेको जनमत टिकाउन नसक्दा र पछि एमाले विभाजन हुँदा निराश बढेको निष्कर्ष निकालिएको छ । त्यसको प्रभावस्वरूप मतदाता क्रमशः वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भएको एमालेको विश्लेषण छ । अवधारणापत्रमा भनिएको छ, २०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो । दस्तावेजले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उदयलाई पनि नेपालको अस्थिर राजनीतिक परिस्थिति र भूराजनीतिक प्रभावसँग जोडेर व्याख्या गरेको छ । एमालेले आफू नेतृत्वमा रहेका सरकारहरूले गरेका कामको प्रभावकारी प्रचार हुन नसक्दा त्यसको राजनीतिक लाभ लिन नसकेको निष्कर्ष पनि निकालेको छ । पार्टीका उपलब्धि र नीतिगत काम जनस्तरसम्म पर्याप्त रूपमा नपुग्दा निर्वाचनमा नकारात्मक असर परेको दस्तावेजमा उल्लेख छ । आचार्यका अनुसार अभियानको जिम्मेवारी पाएका नेताहरू वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट हुन, निर्वाचनमा भएको हारका कारण बुझ्न र भावी रणनीतिबारे समान धारणा बनाउन सकून् भन्ने उद्देश्यले विस्तृत तथा सरल भाषामा अवधारणापत्र तयार गरिएको हो । उनले विगतका राजनीतिक उतारचढाव, निर्वाचनपछिको राजनीतिक मूल्यांकन, पार्टी कमजोर हुनुका कारण, देशी–विदेशी प्रभाव, एमालेविरुद्ध सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोगजस्ता विषय दस्तावेजमा समेटिएको बताए । ‘एमालेले अब गर्नुपर्ने डिजिटल तयारी, त्यसको प्रभावकारी प्रयोग, जनतासँगको सम्बन्ध सुधार, संगठन सुदृढीकरण र कमिटी प्रणाली सञ्चालनका विधिहरू समेत स्पष्ट रूपमा उल्लेख गरेर मिसन जागरणको दस्तावेज तयार गरेका छौं,’ आचार्यले भने । एमालेले मिसन जागरण अभियानलाई आगामी निर्वाचनको तयारी मात्र नभई जनतासँगको सम्बन्ध पुनस्र्थापना गर्ने दीर्घकालीन राजनीतिक अभियानका रूपमा अघि बढाउने जनाएको छ ।