रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ । रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् । अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घोषणा गर्ने नेपाल सरकारका मन्त्रीसहित सांसद तथा नेतागणसमेत प्रचारप्रसारमा व्यस्त हुँदा चुनावी माहोल तातेको छ । पार्टीसम्बद्ध केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची सार्वजनिक गरी नसकेकाले कति जना मन्त्री उम्मेदवार छन् भन्ने स्पष्ट नभए पनि केही मन्त्रीहरुलाई भ्याइनभ्याइ मत मागिरहेका छन् । बिहानैदेखि महाधिवेशन परिसरमा उम्मेदवारी घोषणा गरेका मन्त्री र सांसदका शुभेच्छुक तथा कार्यकर्ता प्रचारप्रसारका सामग्री बाँडी मत मागिरहेका देखिन्छ । उम्मेदवारको सङ्ख्या धेरै भएको र सबैलाई चिन्न नसक्ने भएकाले मत माग्नुपरेको उनीहरुको भनाइ छ । महत्वपूर्ण पदमा रहेकालाई पराजित हुने डर भएकाले दुईदिन अघिदेखि नै मत माग्न थालेको बताउँदै पार्टीका केन्द्रीय सदस्य राजन गौतमले भने, 'मन्त्री, सांसद र नेताहरुले निरन्तर फोन गर्दै भोट मागिरहनुभएको छ, निर्वाचनका क्रममा यसलाई स्वभाविक रुपमै लिनुपर्दछ ।' नेता गौतमले पर्चा, पम्प्लेट, गीत, झाँकी, समाचार र सामाजिक सञ्जालको प्रयोग गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको अवस्थामा उद्योग सङघको परिसरभित्र पर्चा पम्प्लेटलगायतका प्रचार सामग्री निषेध गरिएको बताउँछन् । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने तथा निर्वाचित सदस्य मात्र दास्रो चरणमा हुने निर्वाचनमा उम्मेदवार पाउने व्यवस्था रहेकाले सदस्यको निर्वाचनले प्राथमिकता पाएको रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेल बताउँछन् । उनले महाधिवेशनमा चार हजार बढी प्रतिनिधिले मताधिकार प्रयोग गर्ने चितवन महाधिवेशनमा ९९ सदस्य पदका लागि हुने निर्वाचनमा चार सयभन्दा बढीको उम्मेदवारी पर्ने देखिएको अवस्थामा अहिले व्यापक रुपमा प्रचारप्रसार हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । राजनीतिक विश्लेषकका अनुसार रास्वपाको यसअघि प्रदेशहरुमा सम्पन्न निर्वाचनमा पार्टीका संस्थापक नेता एवं सांसदहरु समेत अप्रत्यासित रुपमा पराजित भएकाले पनि पदमा रहेकाहरु चुनाव प्रचारप्रसारमा खटिन बाध्य हुनुपरेको हो । पार्टीको ९९ निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्य पदका लागि विद्युतीय मतदान प्रक्रियामार्फत हुने निर्वाचनमा ४०० भन्दा बढीको उम्मेदवारी परेको छ । खुलातर्फको भन्दा पनि क्लस्टरबाट धेरै सदस्य निर्वाचित हुने प्रावधान भएकाले निर्वाचन थप पेचिलो बनेको देखिन्छ । रासस
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक पुनः स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार (भोलि) बिहान ११ बजेका लागि तय गरिएको बैठक स्थगित भएको जनाएको हो । संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार अब प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ । यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई ध्यानमा राख्दै प्रतिनिधिसभा बैठक ६ दिनपछि सारिएको थियो । तर चितवनमा जारी महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा लम्बिएपछि बैठक पुनः स्थगित गरी असार १२ गतेका लागि तोकिएको हो । हाल प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का अधिकांश सदस्य तथा रास्वपाका सांसदहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका छन् । महाधिवेशनको कार्यक्रम अझै जारी रहेकाले संसद् बैठक सञ्चालनमा प्रभाव परेको बताइएको छ । लगातार बैठक स्थगित हुँदा संसद्को नियमित कार्यसूची प्रभावित भएको छ भने महाधिवेशन सकिएपछि मात्र प्रतिनिधिसभाको नियमित बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।
महाधिवेशन तयारीः कांग्रेसले ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सञ्चालन गरिएको नयाँ क्रियाशील सदस्यता वितरण अभियानका लागि देशभरका ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन प्रतिनिधिहरू तोकिएको कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिहरू असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा खटिनेछन् । कांग्रेसले विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सदस्यता वितरण अभियान सञ्चालन गर्न लागेको जनाएको छ । खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लामा पुगेर सदस्यता वितरण प्रक्रियाको समन्वय, सहजीकरण तथा अनुगमन गर्ने जिम्मेवारी पाएका छन् । विज्ञप्तिअनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौंमा कांग्रेसका सह–महामन्त्री उदयशमशेर राणा, चितवनमा डा. केदारनरसिंह केसी तथा ललितपुरमा मनोजमणि आचार्यलाई प्रतिनिधि तोकिएको छ । यस्तै, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पनि केन्द्रीय सदस्य तथा पार्टीका विभिन्न तहका नेताहरूलाई जिम्मेवारी दिइएको छ । कांग्रेसले आगामी महाधिवेशनको तयारीस्वरूप संगठन विस्तार, नयाँ सदस्य आकर्षण र युवाको प्रतिनिधित्व बढाउने लक्ष्यसहित सदस्यता वितरण अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ । पार्टीले तोकिएका प्रतिनिधिलाई सम्बन्धित जिल्लामा सक्रिय रूपमा परिचालन भई अभियान सफल बनाउन निर्देशनसमेत दिएको छ ।