रास्वपाको महाधिवेशनमा एक तिहाई प्रतिनिधिले गरेनन् मतदान

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा अपेक्षाकृत कम सहभागिता देखिएको छ ।  महाधिवेशनका लागि तोकिएका ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदानमा सहभागिता जनाएका छन् ।  यस आधारमा करिब १ हजार ३५२ प्रतिनिधि अर्थात् ३१.३६ प्रतिशत प्रतिनिधिले मतदान प्रक्रियामा भाग लिएनन्।  रास्वपाले पहिलोपटक ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत निर्वाचन गराएको थियो ।  पार्टीले देश तथा विदेशमा रहेका प्रतिनिधिलाई समेत मतदानको सुविधा दिएको भए पनि कुल प्रतिनिधिको झण्डै एक तिहाइ हिस्सा मतदानबाट बाहिर रहनुले प्रतिनिधिहरूको सक्रियता, व्यवस्थापन तथा आन्तरिक समन्वयबारे प्रश्न उठाएको छ ।  महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान गरिएको हो । निर्वाचनमा ४ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

केन्द्रीय सदस्यको मतदान सकियो, पदाधिकारीका लागि ४ बजेदेखि मतदान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रक्रिया तीव्र रूपमा अघि बढेको छ । महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्य चयनका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । केन्द्रीय सदस्यको मतदान सकिएसँगै अब आजै पार्टीका प्रमुख पदाधिकारीहरू चयनका लागि मतदानको तयारी गरिएको छ ।  रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारी चयनका लागि आज अपराह्न ४ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय गरिएको छ । रास्वपाको पदाधिकारी तहमा निर्वाचित हुने ६ वटा पदका लागि पार्टीभित्र तीव्र प्रतिस्पर्धा देखिएको छ । ६ पदका लागि ५० जनाभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन् ।  यसअघि पार्टीको सभापतिमा रवि लामिछाने गत मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह फेरि पनि रास्वपाको वरिष्ठ नेता बन्ने पक्का भएको छ । त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहकै समूहबाट केन्द्रीय सदस्य तथा पदाधिकारीका लागि दाबेदार देखिएका नेताहरूलाई सभापति रवि लामिछानेले केन्द्रीय समितिमा मनोनयन गर्ने सहमति भएको छ ।  यसरी मनोनीत हुने नेताहरूमा भूपदेव शाह, सुनिल लम्साल र गृहमन्त्री सुदन गुरुङलगायत रहेका छन् ।

रास्वपा महाधिवेशन : ९ घण्टामा २३ सय मत खस्यो, मतदान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ । बुधबार निर्धारित समयमै मतदान हुन नसकेपछि मध्यरातपछि सुरु भएको मतदानमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचन व्यवस्थापनमा संलग्न राम–लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालका अनुसार बिहीबार बिहान ९ बजेसम्म करिब २३ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । मतदानको गति हेर्दा दिउँसो १२ बजेसम्म ३ हजारभन्दा बढी मत खस्ने अनुमान गरिएको उनले बताए । केन्द्रीय निर्वाचन आयोगले पहिलो चरणको मतदानका लागि बिहीबार दिउँसो १२ बजेसम्मको समय तोकेको छ । यद्यपि महाधिवेशन प्रतिनिधिको संख्या ४१ सयभन्दा बढी रहे पनि मतदानमा भएको लामो ढिलाइका कारण केही प्रतिनिधि घर फर्किसकेको जनाइएको छ । रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये खुलातर्फ २१० र भूगोलतर्फ १७४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशगत कोटाअनुसार सातै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।  पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन गरिनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिने व्यवस्था छ । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा आठ पदाधिकारी चयनका लागि मतदान हुनेछ। सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली टुंगो नलाग्दा प्रक्रिया पटक–पटक प्रभावित भएको थियो । निर्धारित समयभन्दा झन्डै १६ घण्टा ढिला गरी मतदान सुरु भएपछि महाधिवेशन स्थलमा प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए । मतदान अनिश्चित बन्दै जाँदा केही प्रतिनिधिले बहिष्कारको चेतावनीसमेत दिएका थिए । त्यसक्रममा महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । हाल भने मतदान प्रक्रिया नियमित रूपमा अघि बढिरहेको छ । महाधिवेशन प्रतिनिधिहरू लामबद्ध भएर मतदान केन्द्रमा पुगिरहेका छन् भने निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि छिट्टै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।