प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने छ । त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छ भने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् । यसैगरी, अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । रासस
रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध हुने निश्चित भएको हो। श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुका साथै वाग्लेको प्रस्तावकका रूपमा समेत समर्थन जनाएका छन्। यससँगै उपसभापति पदमा अब वाग्ले एक्लो उम्मेदवार बनेका छन्। यद्यपि, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली तथा निर्विरोध निर्वाचित पदाधिकारीहरूको औपचारिक सूची भने सार्वजनिक गरिसकेको छैन। आयोगबाट औपचारिक घोषणा भएपछि वाग्लेको निर्विरोध निर्वाचनले कानुनी मान्यता पाउनेछ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहेकाले अन्य पदका लागि भने निर्वाचनको तयारी भइरहेको छ।
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान, ६ पदमा निर्वाचन हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार मतदान हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनको प्रक्रिया अघि बढाएको हो। यस चरणमा ६ वटा पदका लागि मात्र निर्वाचन हुनेछ। तीमध्ये खुला उपसभापति, महिला उपसभापति, खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि प्रतिनिधिहरूले मतदान गर्नेछन्। महाधिवेशनबाट सभापति पदमा यसअघि नै निर्विरोध चयन भइसकेको अवस्थामा बाँकी पदाधिकारी टुंग्याउन निर्वाचन हुन लागेको हो। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।