काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । रातिदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरूले पार्टीका केन्द्रीय सदस्य चयनका लागि मत हालिरहेका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान आज दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । हालसम्म १ हजार ६ सयभन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि कुल ३८४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये खुलातर्फ ६४ पदका लागि २१० जना र भूगोलतर्फ ३५ पदका लागि १७४ जना प्रतिस्पर्धामा छन् । भूगोलतर्फ सातवटै प्रदेशबाट ५-५ जना गरी ३५ जना निर्वाचित हुनेछन् ।
प्रदेशगत रूपमा उम्मेदवारी संख्या हेर्दा सुदूरपश्चिमबाट १८, मधेशबाट २०, लुम्बिनीबाट ३१, कोशीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ र गण्डकीबाट २७ जनाले उम्मेदवारी दिएका छन् ।
मतदान चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा जारी छ । पहिलो चरणको मतदान सम्पन्न भएको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।
त्यसलगत्तै दोस्रो चरणको मतदान सुरु हुनेछ, जसमा सबै प्रतिनिधिले पार्टीका पदाधिकारी चयनका लागि मतदान गर्नेछन् ।