प्रतिनिधिसभा बैठकमा बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आज (आइतबार) को बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्नेछन् । त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । सभामुख डोलप्रसाद अर्यालले ती विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनेछन् ।
रास्वपाको पहिलो महाधिवेशन लोकतान्तिक तर अव्यवस्थित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । स्थापना भएको चार वर्षमै देशको प्रमुख राजनीतिक शक्ति र सत्तारूढ दलका रूपमा स्थापित रास्वपाका लागि यो महाधिवेशन केवल नेतृत्व चयनको औपचारिक कार्यक्रम थिएन, बरु पार्टीको संस्थागत परिपक्वता, लोकतान्त्रिक संस्कार र भविष्यको राजनीतिक दिशाको परीक्षण गर्ने महत्वपूर्ण अवसर थियो । त्यस अर्थमा महाधिवेशनले आशा जगाउने केही सन्देश दिएको छ भने पार्टीले अझै पार गर्नुपर्ने चुनौती पनि स्पष्ट रूपमा उजागर गरेको छ । महाधिवेशनको सबैभन्दा सकारात्मक पक्ष भनेको नेतृत्व चयनलाई निर्वाचनमार्फत टुंग्याउने अभ्यास हो । लोकतान्त्रिक दलमा नेतृत्व प्रतिस्पर्धाबाट स्थापित हुनु स्वस्थ राजनीतिक संस्कृतिको संकेत मानिन्छ । यसले पार्टी कुनै एक व्यक्तिको लोकप्रियतामा मात्र निर्भर छैन, संस्थागत प्रक्रियालाई पनि स्वीकार गर्न तयार छ भन्ने सन्देश दिएको छ । युवा नेतृत्वको उल्लेखनीय उपस्थितिले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई थप ऊर्जा दिएको छ । नयाँ पुस्ताको सहभागिताले पार्टीलाई समयअनुकूल सोच, प्रविधिमैत्री कार्यशैली र नवीन राजनीतिक अभ्यासतर्फ उन्मुख गराउने अपेक्षा गर्न सकिन्छ । सभापतिमा रवि लामिछाने, बरिष्ठ नेतामा वालेन्द्र शाह र उपाध्यक्षमा स्वर्णिम वाग्ले सर्बसहमत हुनुले मुल नेतृत्व पार्टी पङ्तिीमा पनि सर्वस्वीकार्य रहेको पुष्टि भएको छ । निर्वाचनबाट छानिएका नेतृत्व पनि क्षमतावान, पार्टीमा योगदान गरेका र युवा पुस्ता रहेका छन् । पदाधिकारीसहित कार्यसमितिमा महिला उपस्थिति राम्रो छ । लैंगिक समावेशीता प्रशंशनीय भए पनि जातिय समाबेशीता प्रशंसनीय छैन । आरक्षणविना खुला प्रतिस्पर्धामा जाने हो भने स्वाभाविक रुपमा क्षमतावानहरु अगाडि आउनेछन् । तर उपलब्धिका बीचमा केही गम्भीर कमजोरी पनि देखिए । महाधिवेशनको व्यवस्थापन सुरुदेखि नै अपेक्षाअनुसार व्यवस्थित हुन सकेन । प्रतिनिधिको पहिचाहान र व्यवस्थापनको मामिलामा पार्टी नराम्ररी चुकेकै देखिन्छ । निर्वाचन तालिका, मतदान प्रक्रिया, मतगणना तथा सूचना प्रवाहमा देखिएको अन्योलले पार्टीको संगठनात्मक तयारी अझै परिपक्व भइनसकेको संकेत दियो । पहिलो चरणको मतदानमा करिब एकतिहाइ महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामै सहभागी नभएको र दोस्रो चरणको मतदातमा दुईतिहार महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामै सहभागी नभएको तथ्यले प्रतिनिधित्व, आन्तरिक समन्वय र संगठन सञ्चालनका विषयमा गम्भीर प्रश्न उठाएको छ । सत्तारूढ दलको हैसियतमा रहेका पार्टीका लागि यस्ता कमजोरी सामान्य मान्न सकिँदैन । प्रतिनिधिहरुको खाने बस्ने खर्चको स्रोत र व्यवस्थापनबारे पार्टीले प्रतिनिधिकहरुलाई राम्ररी नबुझाएको, पुराना पार्टीमा झै बस्न, खान सबै खर्च पार्टीले गर्छ भन्ने सोच पार्टी प्रतिनिधिमा भएको देखिन्छ । रास्वपाले यस प्रकारका सबै खर्च प्रतिनिधि स्वयमबाट गराउने नीति लिइको देखियो । यसले पार्टीलाई आर्थिक दाहित्व कम पर्ने तर प्रतिनिधिहरुको आर्थिक दाहित्व बढी भएको देखियो । राम्रो काम यो भयो कि देशको मुल पार्टीको महाधिवेशन गराउन व्यापारीहरुले रुचीविना, बलजफ्ती चन्दा दिनु परेन । बलजफ्ती चन्दा धन्दा यसपाली मौलाएन । रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ । तर वैकल्पिक राजनीति केवल नयाँ अनुहार, आकर्षक नाराबाजी वा फरक शैलीबाट मात्र स्थापित हुँदैन । त्यसका लागि स्पष्ट वैचारिक आधार, दीर्घकालीन नीति, बलियो संगठन र अनुशासित कार्यसंस्कृति अपरिहार्य हुन्छ । महाधिवेशनले संगठनात्मक संरचना निर्माणतर्फ केही महत्वपूर्ण कदम चाल्यो, तर पार्टीको वैचारिक दिशा, आर्थिक दृष्टिकोण, संघीयता, सुशासन र विकास मोडेलबारे अझ स्पष्ट र परिपक्व सन्देश दिन सकेको देखिएन । जनविश्वास टिकाइराख्न विचार र व्यवहारबीचको सामञ्जस्य अनिवार्य हुन्छ । रास्वपा अहिले सरकारको नेतृत्वमा छ । त्यसैले यसको प्रत्येक गतिविधि केवल पार्टीभित्र सीमित रहँदैन, राज्य सञ्चालनको क्षमतासँग पनि जोडिन्छ । जनताले यो महाधिवेशनबाट सरकारको भावी कार्यदिशा, नीति र प्राथमिकताबारे स्पष्ट संकेत अपेक्षा गरेका थिए । तर महाधिवेशन मुख्यतः संगठनात्मक निर्वाचनमा केन्द्रित देखियो । सरकार र पार्टीबीच सन्तुलन कायम गर्दै जनअपेक्षाअनुसार परिणाम दिन सक्नु अब नयाँ नेतृत्वको सबैभन्दा ठूलो जिम्मेवारी हुनेछ । पहिलो महाधिवेशनले रास्वपालाई नयाँ नेतृत्व दिएको छ, तर त्योभन्दा ठूलो जिम्मेवारी पनि सुम्पिएको छ । नेपाली जनताले यस दललाई केवल नयाँ पार्टीका रूपमा होइन, नयाँ राजनीतिक संस्कृतिको आशाका रूपमा हेरेका छन् । त्यो विश्वासलाई परिणाममा रूपान्तरण गर्न सके रास्वपाको भविष्य उज्ज्वल बन्न सक्छ; अन्यथा पहिलो महाधिवेशन इतिहासको एउटा औपचारिक अध्यायमा मात्र सीमित रहनेछ । अब उत्सव सकिएको छ, वास्तविक परीक्षा भने यहीँबाट सुरु भएको छ ।
रास्वपा पतन हुने दाबी गर्दै लिङ्देनले भने – अब राप्रपाले आफूलाई बदल्नुपर्छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपा पतन हुने दाबी गरेका हुन् । उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नको लागी आफूलाई बदल्नुपर्ने बताए । पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । जनताले राप्रपालाई ठूलो मत नदिएपनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको बताए । उनले पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन विभिन्न प्रयास भएको दाबी गर्दै ती सबै चुनौतीका बाबजुद राप्रपा राष्ट्रिय पार्टीको हैसियतमा कायम रहेको बताए । आगामी दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनको भनाई छ । रास्वपाको पतनको प्रतीक्षा गरेर मात्रै राप्रपाको उदय नहुने पनि बताए । पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्ने उनको भनाइ छ । पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउन लाग्न नेता–कार्यकर्तालाई आह्वान गरे । उनले भने, ‘अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो हो, तर राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि राप्रपाको पालो आउँछ भनेर बसेर राप्रपाको पालो आउँदैन । त्यसका लागि हामीले मेहनत गर्नुपर्छ । यो राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै तर त्यसपछि हामी उठ्नको लागि हामीले अहिले गरिराखेको हाम्रो क्रियाकलाप, हाम्रो तरिका, हाम्रो ढाँचामा आमूल परिवर्तन गर्नुपर्नेछ ।’ पार्टी कार्यकर्तालाई महाधिवेशनमा जुट्न पनि निर्देशन दिए । महाधिवेशन मंसिर २६, २७ र २८ गते तोकिएको समयमा नै हुने उल्लेख गर्दै उहाँले निर्वाचन तालिका अनुसार नै तल्लो तहको अधिवेशन गर्न आग्रह गरे ।