‘देशलाई सिध्याउने गरी जेनजी आन्दोलन भयो, अब बामपन्थी र लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिगमनलाई पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता अपरिहार्य भएको बताएका छन् । उनले देशलाई अस्थिरतातर्फ धकेल्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले अहिलेको प्रमुख कार्य प्रतिगमनलाई परास्त गर्नु रहेको बताए ।

‘यतिबेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । त्यसका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता हुनुपर्छ,’ उनले भने । 

ओलीले विश्वभर अस्थिरतावादी, हिंसात्मक र लोकप्रियतावादी प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै त्यस्ता शक्तिहरूले वामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्न खोजिरहेको दाबी गरे । 

उनले एमालेका नीति र सिद्धान्त सही रहेको दाबी गर्दै बदलिँदो समयअनुसार राजनीतिक तथा आर्थिक नीतिलाई थप परिष्कृत गर्दै अघि बढाउने पक्षमा रहेको बताए । 

‘हाम्रा नीतिहरू सही छन् । हामी नीतिका लागि मात्रै एकता र सहकार्यको कुरा गरेका होइनौं । राजनीतिक र आर्थिक विषयवस्तुलाई समसामयिक ढंगले थप परिष्कृत गर्दै अगाडि बढाउन खोजेका हौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ समाजवाद निर्माणकै मार्ग हो,’ उनले भने । 

‘पदका लागि सरकारमा पुग्ने होइन, जनताको खुसीका लागि काम गर्ने हो । हामीले त्यही किसिमले काम गरेका थियौं,’ उनले भने । 

उनले पछिल्ला वर्षहरूमा वामपन्थी आन्दोलन मात्र नभई लोकतान्त्रिक आन्दोलनसमेत कमजोर बनाउने प्रयास भएको दाबी गरे । ‘देशलाई नै सिध्याउने गरी जेनजी आन्दोलन भयो । यो लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन । त्यस्तो आन्दोलनका माध्यमबाट लोकतान्त्रिक सरकार हटाउन पाइँदैन । तर, नेपालमा त्यस्तो भयो,’ उनले भने । 

ओलीले एमालेमाथि लगाइएका आरोपहरूको पनि प्रतिवाद गर्दै पार्टी अयोग्य भएका कारण नभई योजनाबद्ध रूपमा झुटा प्रचार, भ्रष्टाचारका आरोप, चरित्रहत्या र जनतामा घृणा फैलाउने अभियानका कारण कमजोर बनाइएको दाबी गरे ।

‘हामीले देश कमजोर पार्यौं भन्ने भाष्य गलत हो । केही कमजोरी अवश्य भए, तर हामी अयोग्य भएर होइन, झुटा प्रचार गरेर, भ्रष्टाचारका आरोप लगाएर बदनाम गरियो, जनतामा घृणा पैदा गरियो र चरित्रहत्या गरियो,’ उनले भने । 

निर्वाचन प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउँदै ओलीले परिणामको पूर्वानुमान गरिएकै अवस्थामा प्रतिकूल परिस्थितिमा निर्वाचन गरिएको आरोप लगाए । एमालेले त्यतिबेला निर्वाचन स्थगित गर्नुपर्ने धारणा राखे पनि अन्य दललाई त्यसमा सहमत गराउन नसकेको उनको भनाइ छ । 

‘यो निर्वाचन वामपन्थी र लोकतान्त्रिक शक्तिका लागि अनुकूल छैन भनेर एमालेले भनेको थियो । यसलाई स्थगित गरौं भनेका थियौं, तर हामी अरूलाई विश्वस्त बनाउन सकेनौं । एमालेका लागि भीरको बाटो र अरूका लागि हाइवे हो भन्ने सोच थियो, तर अहिले सबै एउटै बाटोमा आएका छन्,’ उनले भने । 

ओलीले मुलुकको लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थायित्व र विकासका लागि वैचारिक रूपमा नजिक रहेका शक्तिबीच सहकार्य र साझा अभियान आवश्यक रहेकोमा जोड दिए । 
 

Share News