रास्वपाको पहिलो महाधिवेशन लोकतान्तिक तर अव्यवस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । स्थापना भएको चार वर्षमै देशको प्रमुख राजनीतिक शक्ति र सत्तारूढ दलका रूपमा स्थापित रास्वपाका लागि यो महाधिवेशन केवल नेतृत्व चयनको औपचारिक कार्यक्रम थिएन, बरु पार्टीको संस्थागत परिपक्वता, लोकतान्त्रिक संस्कार र भविष्यको राजनीतिक दिशाको परीक्षण गर्ने महत्वपूर्ण अवसर थियो । त्यस अर्थमा महाधिवेशनले आशा जगाउने केही सन्देश दिएको छ भने पार्टीले अझै पार गर्नुपर्ने चुनौती पनि स्पष्ट रूपमा उजागर गरेको छ ।

महाधिवेशनको सबैभन्दा सकारात्मक पक्ष भनेको नेतृत्व चयनलाई निर्वाचनमार्फत टुंग्याउने अभ्यास हो । लोकतान्त्रिक दलमा नेतृत्व प्रतिस्पर्धाबाट स्थापित हुनु स्वस्थ राजनीतिक संस्कृतिको संकेत मानिन्छ । यसले पार्टी कुनै एक व्यक्तिको लोकप्रियतामा मात्र निर्भर छैन, संस्थागत प्रक्रियालाई पनि स्वीकार गर्न तयार छ भन्ने सन्देश दिएको छ । युवा नेतृत्वको उल्लेखनीय उपस्थितिले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई थप ऊर्जा दिएको छ । नयाँ पुस्ताको सहभागिताले पार्टीलाई समयअनुकूल सोच, प्रविधिमैत्री कार्यशैली र नवीन राजनीतिक अभ्यासतर्फ उन्मुख गराउने अपेक्षा गर्न सकिन्छ । 

सभापतिमा रवि लामिछाने, बरिष्ठ नेतामा वालेन्द्र शाह र उपाध्यक्षमा स्वर्णिम वाग्ले सर्बसहमत हुनुले मुल नेतृत्व पार्टी पङ्तिीमा पनि सर्वस्वीकार्य रहेको पुष्टि भएको छ । निर्वाचनबाट छानिएका नेतृत्व पनि क्षमतावान, पार्टीमा योगदान गरेका र युवा पुस्ता रहेका छन् । पदाधिकारीसहित कार्यसमितिमा महिला उपस्थिति राम्रो छ । लैंगिक समावेशीता प्रशंशनीय भए पनि जातिय समाबेशीता प्रशंसनीय छैन । आरक्षणविना खुला प्रतिस्पर्धामा जाने हो भने स्वाभाविक रुपमा क्षमतावानहरु अगाडि आउनेछन् । 

तर उपलब्धिका बीचमा केही गम्भीर कमजोरी पनि देखिए । महाधिवेशनको व्यवस्थापन सुरुदेखि नै अपेक्षाअनुसार व्यवस्थित हुन सकेन । प्रतिनिधिको पहिचाहान र व्यवस्थापनको मामिलामा पार्टी नराम्ररी चुकेकै देखिन्छ । निर्वाचन तालिका, मतदान प्रक्रिया, मतगणना तथा सूचना प्रवाहमा देखिएको अन्योलले पार्टीको संगठनात्मक तयारी अझै परिपक्व भइनसकेको संकेत दियो । पहिलो चरणको मतदानमा करिब एकतिहाइ महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामै सहभागी नभएको र दोस्रो चरणको मतदातमा दुईतिहार महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामै सहभागी नभएको तथ्यले प्रतिनिधित्व, आन्तरिक समन्वय र संगठन सञ्चालनका विषयमा गम्भीर प्रश्न उठाएको छ । सत्तारूढ दलको हैसियतमा रहेका पार्टीका लागि यस्ता कमजोरी सामान्य मान्न सकिँदैन ।

प्रतिनिधिहरुको खाने बस्ने खर्चको स्रोत र व्यवस्थापनबारे पार्टीले प्रतिनिधिकहरुलाई राम्ररी नबुझाएको, पुराना पार्टीमा झै बस्न, खान सबै खर्च पार्टीले गर्छ भन्ने सोच पार्टी प्रतिनिधिमा भएको देखिन्छ । रास्वपाले यस प्रकारका सबै खर्च प्रतिनिधि स्वयमबाट गराउने नीति लिइको देखियो । यसले पार्टीलाई आर्थिक दाहित्व कम पर्ने तर प्रतिनिधिहरुको आर्थिक दाहित्व बढी भएको देखियो । राम्रो काम यो भयो कि देशको मुल पार्टीको महाधिवेशन गराउन व्यापारीहरुले रुचीविना, बलजफ्‌ती चन्दा दिनु परेन । बलजफ्‌ती चन्दा धन्दा यसपाली मौलाएन ।  

रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ ।  तर वैकल्पिक राजनीति केवल नयाँ अनुहार, आकर्षक नाराबाजी वा फरक शैलीबाट मात्र स्थापित हुँदैन । त्यसका लागि स्पष्ट वैचारिक आधार, दीर्घकालीन नीति, बलियो संगठन र अनुशासित कार्यसंस्कृति अपरिहार्य हुन्छ । महाधिवेशनले संगठनात्मक संरचना निर्माणतर्फ केही महत्वपूर्ण कदम चाल्यो, तर पार्टीको वैचारिक दिशा, आर्थिक दृष्टिकोण, संघीयता, सुशासन र विकास मोडेलबारे अझ स्पष्ट र परिपक्व सन्देश दिन सकेको देखिएन । जनविश्वास टिकाइराख्न विचार र व्यवहारबीचको सामञ्जस्य अनिवार्य हुन्छ ।

रास्वपा अहिले सरकारको नेतृत्वमा छ । त्यसैले यसको प्रत्येक गतिविधि केवल पार्टीभित्र सीमित रहँदैन, राज्य सञ्चालनको क्षमतासँग पनि जोडिन्छ । जनताले यो महाधिवेशनबाट सरकारको भावी कार्यदिशा, नीति र प्राथमिकताबारे स्पष्ट संकेत अपेक्षा गरेका थिए । तर महाधिवेशन मुख्यतः संगठनात्मक निर्वाचनमा केन्द्रित देखियो । सरकार र पार्टीबीच सन्तुलन कायम गर्दै जनअपेक्षाअनुसार परिणाम दिन सक्नु अब नयाँ नेतृत्वको सबैभन्दा ठूलो जिम्मेवारी हुनेछ ।

पहिलो महाधिवेशनले रास्वपालाई नयाँ नेतृत्व दिएको छ, तर त्योभन्दा ठूलो जिम्मेवारी पनि सुम्पिएको छ । नेपाली जनताले यस दललाई केवल नयाँ पार्टीका रूपमा होइन, नयाँ राजनीतिक संस्कृतिको आशाका रूपमा हेरेका छन् । त्यो विश्वासलाई परिणाममा रूपान्तरण गर्न सके रास्वपाको भविष्य उज्ज्वल बन्न सक्छ; अन्यथा पहिलो महाधिवेशन इतिहासको एउटा औपचारिक अध्यायमा मात्र सीमित रहनेछ । अब उत्सव सकिएको छ, वास्तविक परीक्षा भने यहीँबाट सुरु भएको छ ।

Share News