सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ ।
गुण्डुमा एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज तोक्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ । पार्टीको ११औँ महाधिवेशनपछि हालसम्म केन्द्रीय तहका नेताहरूको कार्य विभाजन हुन नसकेको कारण यो विषयलाई प्राथमिकतामा राखिएको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेका कारण आजका लागि सारिएको थियो । पार्टीभित्रका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको जिम्मेवारी दिने तयारी गरिएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई कुनै न कुनै स्थानीय तहको इन्चार्ज तोकेर संगठन सुदृढीकरण तथा आगामी स्थानीय तह निर्वाचनमा पार्टीको स्थिति बलियो बनाउने योजना रहेको छ । त्यसैगरी विभिन्न केन्द्रीय विभाग तथा निकायहरूको जिम्मेवारी बाँडफाँट पनि बैठकको एजेन्डामा रहेको छ । बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने मिति पनि तय गर्ने जनाइएको छ ।
अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन्। उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे। ‘अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,’ उनले भने। काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे। टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो। मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए। साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ। उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताए।