प्रदेश अभियानपछि कांग्रेस संस्थापनइतर पक्षको शक्ति प्रदर्शन

काठमाडौं । सातै प्रदेशको राजनीतिक अभियान सम्पन्न गरेपछि नेपाली कांग्रेसको संस्थापनइतर पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा जुटेको छ। त्यसको प्रारम्भिक गृहकार्यस्वरूप शुक्रबार दिउँसो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूको रणनीतिक बैठक सुरु भएको हो। बैठकमा प्रदेशस्तरीय भेलाबाट प्राप्त राजनीतिक सन्देशको समीक्षा, पार्टीभित्रको आगामी रणनीति तथा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा केन्द्रित छलफल भइरहेको स्रोतले जनाएको छ। पछिल्ला दिनमा संस्थापनइतर पक्षभित्र भएका निरन्तर संवाद र परामर्शको श्रृंखलापछि बसेको यो बैठकलाई समूहको आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण मानिएको छ। बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही तथा नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना र मोहन बस्नेतलगायत सहभागी छन्। बैठकअघि संस्थापनइतर पक्षका प्रभावशाली नेताहरूबीच छुट्टाछुट्टै राजनीतिक परामर्श भएको थियो। बिहीबार बिहान खड्का र डा. शेखर कोइरालाबीच गल्फुटारमा छलफल भएको थियो भने त्यसपछि खड्काले महाराजगञ्ज पुगेर डा। शशांक कोइरालासँग भेटवार्ता गरेका थिए। त्यही दिन पूर्वउपसभापति विमलेन्द्र निधिको बानेश्वर हाइटस्थित निवासमा निधि, प्रकाशमान सिंह र डा। शशांक कोइरालाबीच पनि छलफल भएको थियो। संस्थापनइतर पक्षले हालै सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ। ती भेलामध्ये कोशी प्रदेशको कार्यक्रममा डा। शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको थियो, जसलाई समूहभित्र नेतृत्वको समन्वय र एकताको संकेतका रूपमा व्याख्या गरिएको थियो। बैठकको औपचारिक एजेन्डाबारे सार्वजनिक रूपमा केही नबताइए पनि नेता खड्काले समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेताहरूलाई बोलाइएको प्रतिक्रिया दिएका छन्। यद्यपि, संस्थापनइतर पक्षका एक नेताका अनुसार अब प्रदेश अभियानलाई राष्ट्रिय तहमा विस्तार गर्ने तयारी भइरहेको छ। त्यसका लागि राष्ट्रिय भेला आयोजना गर्ने प्रस्ताव शुक्रबारको बैठकमा मुख्य एजेन्डाका रूपमा छलफल भइरहेको छ। उक्त भेलामार्फत पार्टीभित्र आफ्नो साझा धारणा र आगामी राजनीतिक रोडम्याप सार्वजनिक गर्ने तयारी संस्थापनइतर पक्षको रहेको स्रोतको दाबी छ।

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले 'आर्थिक विधेयक, २०८३' र 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची छ । त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ । यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

खड्काले बोलाए इतर समूहको बैठक, राष्ट्रिय भेला गर्नेबारे निर्णय हुन सक्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक बोलाएका छन् । पूर्व सभापति शेरबहादुर देउवाको नाममा संगठित भएको यस समूहको बैठक शुक्रबार दिउँसो २ बजे गोल्फुटारस्थित आफ्नै निवासमा बस्ने नेताहरूले बताएका छन् । बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारी तथा शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ । बैठकमा पार्टीभित्र पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रम, इतर समूहको आगामी रणनीति तथा संगठनात्मक गतिविधिबारे विस्तृत छलफल हुने बताइएको छ । विशेषगरी काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा बैठकले औपचारिक निर्णय गर्न सक्ने स्रोतको भनाइ छ । खड्काले केही दिनअघि संस्थापन पक्षले उठाएका विषयमा सातबुँदे लिखित जवाफ बुझाएका थिए । त्यसको राजनीतिक सन्देश, पार्टीभित्र परेको प्रभाव र अब इतर समूहले अपनाउने रणनीतिबारे पनि बैठकमा समीक्षा हुने जनाइएको छ । विशेष महाधिवेशनपछि इतर समूहले आफ्नो संगठनात्मक सक्रियता बढाउँदै सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ । अब त्यसैको निरन्तरतास्वरूप राष्ट्रियस्तरको भेला आयोजना गरेर आगामी राजनीतिक दिशा तय गर्ने तयारीमा समूह रहेको नेताहरूले बताएका छन् । कांग्रेसभित्र विभिन्न समूहबीच राजनीतिक परामर्श पनि तीव्र बनेको छ । बिहीबार मात्रै पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच छुट्टै छलफल भएको थियो । त्यसलगत्तै खड्काले इतर समूहको बैठक बोलाएकाले कांग्रेसभित्र आगामी रणनीतिक तयारीसँग यसलाई जोडेर हेरिएको छ।