संवैधानिक परिषद् बैठक आज, १८ संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ५ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा विभिन्न संवैधानिक निकायमा लामो समयदेखि रिक्त रहेका पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्ने विषयमा छलफल हुने जनाइएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार परिषद्ले सम्भावित उम्मेदवारको छनोट र सिफारिस प्रक्रियालाई अघि बढाउने तयारी गरेको छ ।

हाल विभिन्न संवैधानिक निकायमा गरी १८ पद रिक्त छन् । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा एक सदस्य, मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद तथा राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद खाली छन् ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, थारू आयोगमा अध्यक्षसहित दुई पद, मधेसी आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद तथा राष्ट्रिय महिला आयोगमा एक सदस्य पद रिक्त रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार परिषद्ले योग्य व्यक्तिको नाम सिफारिस गरेपछि ती नामहरू संसदीय सुनुवाइ समितिमा पठाइनेछन् । सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित पदमा नियुक्तिको बाटो खुल्नेछ ।

लामो समयदेखि संवैधानिक निकायका महत्वपूर्ण पदहरू रिक्त रहँदा ती निकायको कार्यसम्पादन र निर्णय प्रक्रियामा असर परेको भन्दै नियुक्ति प्रक्रिया शीघ्र टुंग्याउनुपर्ने आवाज उठ्दै आएको छ । आजको परिषद् बैठकलाई त्यसै सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

Share News