कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ । तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको  छ । उक्त दलका उम्मेदवार भन्दा दलले जिल्लामा चार हजार ८४ मत बढी पाएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेमा भने दलले भन्दा उम्मेदवारले पाएको मत बढी छ । नेपाली कांग्रेसले समानुपातिकतर्फ दलले २८ हजार ६५६ मत पाएकोमा उम्मेदवारले पाएको मत ३० हजार ४९४ छ । नेकपा एमालेले समानुपातिकतर्फ दलले पाएको मत २४ हजार १९९ रहेकोमा प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत २५ हजार ८२८ रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीमा उम्मेदवारले भन्दा दलले बढी मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत चार हजार २७ रहँदा समानुपातिकतर्फ दलले पाएको मत छ हजार ४६६ रहेको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत पाँच हजार २११ हुँदा समानुपातिकतर्फ दलले पाएको मत पाँच हजार ७६३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।   

सर्वाधिक मत पाउने सांसदहरु

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमले २९ हजार ५ सय २८ मत ल्याएर रौतहट-२ बाट विजय हासिल गरे । २०८२ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार मध्ये सबैभन्दा बढी भोट ल्याउने सांसद हुन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीका ८४ जना सांसदले मोहम्मद फिरदोस आलमको भन्दा बढी मत ल्याएर विजय हासिल गरे । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले २७ हजार ४ सय ६० मत पाएर रोल्पाबाट विजय हासिल गरे । उनको भन्दा बढी मत पाएर विजय हुने रास्वपाका ९५ सांसद छन् ।  नेकपा एमालेका मोहम्मद इश्तियाक राईले २४ हजार ६२८ मत ल्याएर बाँके-२ बाट विजय हासिल गरे । उनी एमालेबाट सबैभन्दा बढी मत ल्याउने सांसद हुन । उनले भन्दा बढी मत पाएर विजय हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद १०० जनभन्दा बढी रहेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी भए । अहिलेसम्म सबैभन्दा बढी मत ल्याएर विजय हुनेमा बालेनको नाम सूचीकृत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकै इन्दिरा राना मगरले ६० हजार ११० मत ल्याएर विजय हासिल गरिन् । उक्त पार्टीबाट १२ जनाले ५० हजार भन्दा बढी मत ल्याएर विजय हासिल गरे । ३६ जनाले ४० हजार भन्दा बढी मत मत पाए । ७० जनाले ३० हजार बढी मत पाए ।   प्रत्यक्षतर्फ १६५ सीट मध्ये कम्तीमा १२५ अर्थात् ७५ प्रतिशत सीटमा विजय हासिल गरेको यस पार्टीका विजयी हुने उम्मेदवारहरूले विजय हासिल गरेको मतान्तर पनि ज्यादै बढी छ । समानुपातिक तर्फ पनि दोस्रो ठूलो दल नेपाली काँग्रेसको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन गुणा बढी मत पाइरहेको छ ।

रास्वपाको हालसम्म ४० जिल्ला ‘क्लिन स्वीप’, दुईतिहाइ बहुमतनजिक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै देशको राजनीतिमा नयाँ इतिहास रचेको छ । ७७ मध्ये ४० जिल्लाका सबै निर्वाचन क्षेत्र जित्दै रास्वपाले क्लिन स्वीप गरेको छ भने देशव्यापी रूपमा दुईतिहाइ बहुमतनजिक पुगेको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये मतगणना लगभग टुंगिन लाग्दा रास्वपाले १२२ सिट जितिसकेको छ । प्रत्यक्षमा दुईतिहाइका लागि आवश्यक ११० सिटभन्दा धेरै जित हासिल गर्दै रास्वपाले परम्परागत दलहरूको वर्चस्व तोडेको छ । यसअघि २०७९ को निर्वाचनमा रास्वपा २१ सिटसहित चौथो शक्ति बनेको थियो। त्यतिबेला प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ सिट जितेको थियो । तर छोटो समयमै पार्टीले देशव्यापी विस्तार गर्दै अहिले ठूलो राजनीतिक शक्ति बनेको छ । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को संयुक्त नेतृत्वमा चुनाव लडेको रास्वपाले यसपटक देशभर लहर नै सिर्जना गरेको विश्लेषण गरिएको छ । निर्वाचनअघि नै बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर पार्टी चुनावी मैदानमा उत्रिएको थियो । रास्वपाको लहरका कारण परम्परागत दलहरू कमजोर बनेका छन् । नेपाली कांग्रेस ले प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ सिट जितेको छ र केही क्षेत्रमा अग्रता लिएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ७ सिट जितेको छ । नयाँ शक्ति श्रम संस्कृति पार्टीले पनि ३ सिट जितेर चासो बढाएको छ । यो पार्टीका नेता हर्क साम्पाङ को नेतृत्वमा केही समयअघि मात्रै गठन भएको थियो । स्वतन्त्रतर्फबाट महावीर पुन पनि निर्वाचित भएका छन् । देशका सातै प्रदेशमा रास्वपाको प्रभाव देखिएको छ। कोशी प्रदेशमा झापा, मोरङ, उदयपुर र ओखलढुंगासहित ४ जिल्ला क्लिन स्वीप भएका छन् । मधेश प्रदेशमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सासहित ६ जिल्ला क्लिन स्वीप भएका छन्। धनुषामा भने उम्मेदवारी खारेजको कारण विवादित अवस्था बनेको छ । बागमती प्रदेशमा काठमाडौंका १० वटै क्षेत्र, ललितपुर, नुवाकोट, चितवन, भक्तपुर, काभ्रे, मकवानपुरलगायत ११ जिल्ला क्लिन स्वीप भएका छन् । गण्डकी प्रदेशमा कास्की, तनहुँ, गोरखा, स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत र लमजुङ गरी ८ जिल्ला क्लिन स्वीप भएका छन् । मनाङ र मुस्ताङ मात्रै कांग्रेसले जितेको छ । लुम्बिनी प्रदेशमा रुपन्देही, कैलाली, दाङ, गुल्मी, बर्दिया, नवलपरासी, अर्घाखाँची र प्युठान गरी ८ जिल्ला क्लिन स्वीप भएका छन् । सुदूरपश्चिममा कञ्चनपुर, बैतडी र डडेल्धुरामा ३ जिल्ला क्लिन स्वीप भएका छन् । कर्णालीमा भने कमजोर देशभर बलियो लहर देखिए पनि कर्णाली प्रदेशमा भने रास्वपा अपेक्षाकृत कमजोर देखिएको छ । १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत-२ मा मात्रै रास्वपाका रमेश सापकोटा विजयी भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ । प्रत्यक्षमा १२५ सिट नजिक पुगेको रास्वपाले समानुपातिकमा करिब ५९ सिट जिते स्पष्ट दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ । नेपालको इतिहासमा २०१५ सालको चुनावपछि मात्रै दुईतिहाइ बहुमत आएको थियो, जब नेपाली कांग्रेस ले १०९ मध्ये ७४ सिट जितेको थियो । अहिले भने दशकौं पुरानो राजनीतिक समीकरणलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले नयाँ राजनीतिक युग सुरु गरेको चर्चा हुन थालेको छ ।