पूर्वाधारदेखि एआईसम्म चीनसँग साझेदारी खोज्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनसँग पूर्वाधार, ऊर्जा, विपद् व्यवस्थापन, व्यापार र डिजिटल प्रविधिमा रणनीतिक सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेको छ । 

चीनको सिचुवान प्रान्तीय नेतृत्वसँगको उच्चस्तरीय भेटवार्तामा रास्वपाले पाँच क्षेत्रलाई प्राथमिकतामा राख्दै लगानी, प्रविधि हस्तान्तरण र संस्थागत साझेदारीको प्रस्ताव गरेको हो ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तीय समितिका सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुईसँग चेङ्दुमा भेटवार्ता गरेको थियो ।

भेटमा नेपाली पक्षले चीनसँगको सम्बन्धलाई परम्परागत राजनीतिक मित्रतामा सीमित नराखी विकास आयोजना, आर्थिक साझेदारी र प्रविधि हस्तान्तरणमा केन्द्रित गर्नुपर्ने धारणा राखेको छ । 

विशेषगरी चीनसँग सीमा जोडिएका क्षेत्रमा वर्षभरि सञ्चालन हुन सक्ने यातायात पूर्वाधार, आधुनिक भन्सार प्रणाली, सुक्खा बन्दरगाह र सीमापार व्यापारको विश्वसनीयता बढाउने विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।

रास्वपाले सहकार्यका लागि प्रस्ताव गरेका पाँच क्षेत्रमा सीमापार यातायात पूर्वाधार, पर्वतीय विज्ञान तथा विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा तथा हरित उद्योग, हवाई सम्पर्कसहित पर्यटन र व्यापार प्रवद्र्धन तथा युवा र डिजिटल नवप्रवर्तन छन् ।

पूर्वाधार र ऊर्जा क्षेत्रमा चिनियाँ लगानीको प्रस्ताव

नेपाली प्रतिनिधिमण्डलले पछिल्ला प्राकृतिक विपद्ले नेपाल–चीन सीमापार यातायात र व्यापारको जोखिम उजागर गरेको भन्दै बाह्रै महिना सञ्चालन हुन सक्ने सडक, सुक्खा बन्दरगाहको स्तरोन्नति र आधुनिक भन्सार प्रणाली निर्माणमा सहकार्य प्रस्ताव गरेको छ ।

त्यस्तै, नेपाल र सिचुवानको भौगोलिक तथा पर्वतीय वातावरणमा समानता रहेकाले बाढीपहिरो, मौसम पूर्वानुमान, पूर्वसूचना प्रणाली र विपद् पूर्वतयारीमा संयुक्त अनुसन्धान तथा सूचना आदानप्रदान गर्न सकिने प्रस्ताव गरिएको छ ।

विश्वविद्यालय, अनुसन्धान संस्था र प्राविधिक विज्ञबीच संस्थागत सहकार्य आवश्यक रहेको रास्वपाको भनाइ छ ।

ऊर्जा क्षेत्रमा नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको औद्योगिक तथा प्राविधिक क्षमतासँग जोड्ने प्रस्ताव गरिएको छ । जलविद्युत्मा लगानी र प्रविधि हस्तान्तरणसँगै हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा समेत चिनियाँ साझेदारी खोजिएको छ ।

रास्वपाले चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवामा थप प्रत्यक्ष हवाई उडानको सम्भावना अध्ययन गर्न पनि आग्रह गरेको छ । यसले पर्यटन र व्यावसायिक आवागमन विस्तारमा सहयोग पुग्ने नेपाली पक्षको अपेक्षा छ । 

चीनमा नेपाली जडीबुटी, चिया, फलफूल तथा हस्तकलाको निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड र बजार पहुँचमा सहकार्यको प्रस्तावसमेत राखिएको छ ।

डिजिटल अर्थतन्त्रतर्फ कृत्रिम बौद्धिकता (एआई), सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टर निर्माणमा सहकार्य गर्न रास्वपाले प्रस्ताव गरेको छ । नेपाली युवाको प्राविधिक क्षमता र नेपालको स्वच्छ ऊर्जा सम्भावनालाई सिचुवानको अनुसन्धान तथा औद्योगिक क्षमतासँग जोड्ने उसको योजना छ ।

एक चीन नीतिमा निरन्तरता दिने प्रतिबद्धता

भेटवार्तामा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको नीतिगत प्रतिबद्धता दोहोर्याएको छ । प्रतिनिधिमण्डलले एक चीन सिद्धान्त नेपालको दशकौंदेखिको स्थिर परराष्ट्र नीतिको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै पार्टी र सरकारले पनि त्यसलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।

चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध नेपाली भूमि प्रयोग हुन नहुने धारणा राख्दै प्रतिनिधिमण्डलले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक सम्मान र एकअर्काको भौगोलिक अखण्डताको सम्मानमा आधारित रहनुपर्ने बताएको छ ।

महामन्त्री आचार्यले राजनीतिक प्रणाली, दर्शन र कार्यशैली फरक भए पनि नागरिकको हित र समृद्धिका लागि काम गर्ने विषय दुवै देशका राजनीतिक शक्तिको साझा उद्देश्य भएको बताए । 

उनले चिनियाँ कम्युनिस्ट पार्टीको दीर्घकालीन संगठनात्मक अभ्यास र शासन सञ्चालनको अनुभव अध्ययन गर्न रास्वपा इच्छुक रहेको पनि उल्लेख गरे ।

सिचुवानले समझदारी कार्यान्वयनमा सहयोग गर्ने

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव वाङले नेपालसँग चीनको बेल्ट एन्ड रोड सहकार्य क्रमशः अघि बढिरहेको उल्लेख गर्दै दुई देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालसँग निकट सम्पर्क भएका चिनियाँ प्रान्तमध्ये सिचुवान पनि एक रहेको उल्लेख गर्दै उनले रास्वपा प्रतिनिधिमण्डलको भ्रमणले पार्टीगत तथा सरकारी तहको सम्बन्ध विस्तार गर्न र नयाँ क्षेत्रमा रणनीतिक साझेदारी अघि बढाउन अवसर प्रदान गरेको बताए ।

गत भदौमा रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको प्रसंग उठाउँदै वाङले विपद्का बेला चीनले नेपाललाई गरेको सहयोगलाई दुई देशबीचको परम्परागत मित्रताको उदाहरणका रूपमा प्रस्तुत गरे ।

महामन्त्री आचार्यले विपद्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै चीनले आफ्नै क्षेत्रमा उद्धार तथा राहतको काम गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा पनि तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएको स्मरण गरे । उक्त सहयोगप्रति नेपाल आभारी रहेको उनको भनाइ थियो ।

रास्वपाले यसअघि भ्रमणका विषयमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेको पनि चिनियाँ पक्षलाई जानकारी गराएको छ । पार्टी र सरकार दुवै तहबाट चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता रहेको प्रतिनिधिमण्डलको भनाइ थियो ।

विगतका अस्थिर राजनीतिक गठबन्धनका कारण विकास आयोजनाको कार्यान्वयन प्रभावित हुने गरेको उल्लेख गर्दै रास्वपाले स्थिर राजनीतिक नेतृत्व र स्पष्ट कार्यान्वयन क्षमताबाट विकासका कामले गति पाउने दाबी गरेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा भेटवार्ताका क्रममा सहकार्यका पाँच प्राथमिकता प्रस्तुत गरिएको उल्लेख छ । 

यद्यपि प्रस्तावित क्षेत्रमा लगानी, परियोजना छनोट, कार्यान्वयनको समयसीमा वा कुनै औपचारिक सम्झौता भएको विवरण विज्ञप्तिमा खुलाइएको छैन ।

Share News