एमालेले अर्थतन्त्र र सामाजिक जीवनमा परिवर्तन ल्याएको पौडेलको दाबी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वका सरकारले मुलुकको अर्थतन्त्र, भौतिक पूर्वाधार र सामाजिक जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याएको दाबी गरेका छन् । 

उनले एमाले नै नेपालको विकास र समृद्धिको मुख्य संवाहक भएको जिकिर गरेका हुन् ।

बुधबार (आज) काठमाडौंमा सुरु भएको एमाले राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पौडेलले एमालेले सरकारको नेतृत्व गरेका बेला मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको चर्चा गरेका छन् । 

उनले एमाले नेतृत्वका सरकारका पालामा भएका विकास निर्माण, आर्थिक सुधार र सामाजिक रूपान्तरणका कामलाई पार्टीको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेलले एमाले सरकारमा रहँदा मुलुकको विकासका लागि लिएका नीति, सञ्चालन गरेका कार्यक्रम र अघि बढाएका आयोजनाहरूको समीक्षा गरेका छन् । उनको कार्यपत्रमा एमाले नेतृत्वका सरकारले गरेका कामलाई तथ्यांकसहित प्रस्तुत गर्ने विषय समेटिएको छ ।

एमालेले विगतमा सरकारको नेतृत्व गर्दा मुलुकको आर्थिक विकास र पूर्वाधार निर्माणमा महत्वपूर्ण आधार तयार गरेको पौडेलको निष्कर्ष छ । 

विकास निर्माणलाई गति दिनुका साथै आर्थिक गतिविधि विस्तार र नागरिकको जीवनस्तर सुधारमा एमाले नेतृत्वका सरकारको भूमिका रहेको उनको दाबी छ ।

पार्टीको राष्ट्रिय भेलामा पौडेललाई एमाले नेतृत्वका सरकारका पालामा भएका आर्थिक, सामाजिक तथा भौतिक विकासका कामको समीक्षा गर्ने जिम्मेवारी दिइएको थियो । त्यसअनुसार उनले विगतका सरकारका काम र उपलब्धिलाई पार्टीका नेता तथा कार्यकर्तामाझ प्रस्तुत गरेका हुन् ।

एमालेको दुईदिने राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले पनि विभिन्न राजनीतिक तथा सांगठनिक विषयमा धारणा र कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । 

भेलामा केन्द्रदेखि स्थानीय तहसम्मका ३ हजार ४१४ जना नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ । 

Share News