हुम्लामा कांग्रेसका जयपति रोकाया अग्रस्थानमा

काठमाडौं ।  हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा छन् । हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए। उनका अनुसार रोकायाले छ हजार ८५५ मत ल्याउनुभएको छ भने नेपाली कम्यनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. दिपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गरेको छ । सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतगणना गर्न बाँकी छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की टाँसी लाजोमले १७५, राप्रपाका छक्क बुढाले १११ मत ल्याएका छन् ।  हालसम्म ३०८ मत बदर भएको छ । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकामा २२ हजार ४६७ मत खसेको थियो ।  

देशभरका १६५ वटै क्षेत्रमा मतगणना जारी, अहिलेसम्म ५८ क्षेत्रको परिणाम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका ढुवानीमा मौसमले अवरोध गरेपछि केही स्थानमा मतगणना सुरु गर्न ढिलाइ भएको थियो । पछिल्लोपटक हेलिकप्टरमार्फत ढुवानी गरिएका सङ्खुवासभा र गोरखाका मतपेटिकाको गणना शनिबार बिहानदेखि सुरु भइसकेको छ । त्यस्तै मुगुमा मानिसले बोकेर मतपेटिका ल्याइएपछि दिउँसो ४ बजेदेखि मतगणना सुरु भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म ५८ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले त्यसको विवरण आयोगको प्रणालीमा प्रविष्टि गरिसकेको छ । प्राविधिक कारणले केही स्थानबाट तथ्यांक प्रविष्टिमा सामान्य ढिलाइ हुने गरेको उनले बताए । प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएका क्षेत्रमा समानुपातिकतर्फको मतगणना पनि सुरु गरिएको छ । आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म करिब ३ लाख ७० हजार मत गणना भइसकेको छ र त्यसको विवरण प्रणालीमा अद्यावधिक भइरहेको छ । आयोगले प्रत्यक्षतर्फ आइतबार बेलुकीसम्म १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित मतगणना तीव्र रूपमा जारी रहेको जनाएको छ ।

जिम्मेवारी ठूलो छ, शिर निहुराउन नपर्ने गरी काम गर्नेछु- डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले जनताबाट प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् । निर्वाचित भएपछि कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उनले मतदाताले दिएको विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढ्ने र त्यो भरोसा कुनै हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे। ‘जिम्मेवारी ठूलो छ, ’  उनले भने, ‘तनहुँ त आफ्नै ठाउँ भइहाल्यो । दुई पटक यहाँबाट विजयी गराइदिनुभयो। यसको महत्त्व, यहाँका जनताको आशा र भरोसालाई म कहिल्यै लत्याउने छैन । ’  डा. वाग्लेले तनहुँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्ने दृढता व्यक्त गर्दै जनताको अपेक्षालाई परिणाममा बदल्ने गरी आफू सक्रिय रहने बताए । उनले प्राप्त जनादेशलाई केवल व्यक्तिगत जीत नभई परिवर्तनको संकेतका रूपमा लिएको पनि उल्लेख गरे ।