रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले सोमबार दिउँसो ३ः०० बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ । यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो । बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ । आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो ।
रास्वपाका विभागहरूले पाए नयाँ जिम्मेवारी, कुनमा को ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विभागका रिक्त पदमा नेताहरूलाई जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालय बैठकले केन्द्रीय नीति विचार विभाग प्रमुखमा संस्थापक केन्द्रीय सदस्य महेश्वर घिमिरेलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै सदस्यमा सांसद सुशान्त वैदिकलाई मनोनयन गर्ने निर्णय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यस्तै केन्द्रीय प्रशिक्षण विभागमा ६ जना सदस्य मनोनीत गरिएको छ । जसमा मधु अर्याल, सृष्टि भट्टराई, नवीन श्रेष्ठ, जयदुर्गा बुढाथोकी, नरेश तिमिल्सिना र सुजनकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै केन्द्रीय संगठन विभागको विज्ञ समूह सदस्यमा कमल खनाल, तोरण विक र उदय सापकोटालाई पार्टीले मनोनीत गरेको छ । प्रवास नेपाली सम्पर्क विभागको प्रमुखमा पार्टी सचिवालय सदस्य दीपकराज बोहरा मनोनीत भएका छन् । उक्त विभागमा यसअघि पार्टी उपसभापति डीपी अर्याल रहेका थिए । उनी सभामुख भएपछि उक्त पद रिक्त रहेको थियो । महामन्त्री बुर्लाकोटीका अनुसार पार्टीको आज बसेको बैठकले महाधिवशेन कार्यविधि मस्यौदा समिति गठन गर्ने समेत निर्णय गरेको छ । जसको प्रमुखमा पार्टी महामन्त्री बुर्लाकोटी रहने र बाँकी सदस्य पछि थप गर्ने गरी निर्णय भएको छ ।
कांग्रेस सभापति थापाद्वारा एकताका लागि पहल सुरु, पूर्णबहादुर खड्कासँग भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । उनले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गरेका हुन् । सभापति थापा नेता खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु ’, सभापति थापाले भने। सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उनको भनाइ थियो । उनले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेस नेता कार्यकर्तालाई आह्वान गरे ।