स्वास्थ्यलाभ र हिरासतपछि पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै ओली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीको सम्बोधन रहनेछ । सम्बोधनमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा संगठन सुदृढीकरणका विषय समेटिन सक्ने बताइएको छ । स्वास्थ्य अवस्था र प्रहरी हिरासतका कारण केही समय सार्वजनिक कार्यक्रममा अनुपस्थित रहेका अध्यक्ष ओली हाल स्वास्थ्यलाभको क्रममा छन् । गत चैत १४ गते पक्राउ परेका उनी १३ दिनपछि रिहा भएका थिए । त्यसपछि पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गराई वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका ओली पहिलोपटक औपचारिक रूपमा पार्टी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
गृहमन्त्री र सुरक्षा प्रमुखबीच मन्त्रालयमा 'हाइभोल्टेज' छलफल, फाइल खोल्ने र उच्चपदस्थलाई पक्राउ गर्ने तयारी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो सुरक्षा अवस्था र केही गम्भीर प्रकरणहरूको अनुसन्धानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग घनिभूत छलफल सुरु गरेका छन् । गृह मन्त्रालयमा जारी उक्त बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललगायतका उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको छ । मन्त्रालय स्रोतका अनुसार यो बैठक विशेष गरी केही पुराना र नयाँ भ्रष्टाचार तथा अनियमितताका फाइलहरू पुनः खोलेर अनुसन्धानलाई तीव्रता दिने विषयमा केन्द्रित छ । बैठकमा दोषी देखिएका उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाउने तयारीबारे रणनीतिक छलफल भइरहेको बुझिएको छ । सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेका बेला गृहमन्त्रीको यो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरी काम कारबाहीमा रोक लगाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता आयुष बडालसहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने भन्दै गएको शुक्रबार रिट दायर गरेका थिए । उक्त रिट अध्ययनपछि मंगलबार दरपिठको निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। प्रशासनले दरपिठको निर्णय गरेपछि अब त्यसविरुद्ध सिधै इजलासमा निवेदन दिन सक्नेछन् । इजलासले दर्ता गर्न आदेश दिएमा प्रशासनले दर्ता गरेर सुनुवाइ अगाडि बढाउनुपर्छ । अघिल्लो संसदमा लामिछानेको सांसद पद निलम्बनमै थियो । सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए । अहिले पनि मुद्दाको फैसला भइसकेको छैन । सहकारी ठगीको मुद्दामा पनि लामिछाने बिगो बापतको धरौटी राखेर रिहा भएका हुन् । सरकारले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा फिर्ता लिने निर्णय गरे पनि त्यसविरुद्ध परेको रिट सर्वोच्चमै विचाराधीन छ ।