काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले सांसदहरूलाई स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद आचार्यले सांसदहरूको कामको दायरा बढ्दो क्रममा रहेकाले प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न स्वकीय सचिव आवश्यक रहेको बताए ।
उनले जनतासँगको समन्वय, विधेयक अध्ययन, संसदीय तयारी तथा क्षेत्रीय काम व्यवस्थापनका लागि सांसदलाई प्राविधिक तथा प्रशासनिक सहयोग आवश्यक पर्ने धारणा राखेका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीको नीति अन्तर्गत सांसदहरूको स्वकीय सचिव पद खारेज गरेको थियो । त्यसयता सांसदहरूले उक्त सुविधा पुनः स्थापना गर्नुपर्ने माग गर्दै आएका छन् ।
यसबीच संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वकीय सचिवको पद पुनः ब्युँताउने प्रक्रिया अघि बढाइसकेको संसद सचिवालयले बताएको छ । तर यससम्बन्धी अन्तिम निर्णय भने सरकारले हालसम्म लिएको छैन ।