हल्ला र भ्रमबाट टाढा रही जिम्मेवार पत्रकारिता गर्न सञ्चारमन्त्रीको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन् । आइतबार विदुर नगरपालिका-४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा उनले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग्री फैलाउनु उचित नहुने स्पष्ट पारे । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । ‘सरकार सबै समस्याको समाधान कारबाहीबाट मात्रै खोज्ने पक्षमा छैन, सञ्चार क्षेत्र आफैं जिम्मेवार बन्नु जरुरी छ,’ उनले भने । मन्त्री तिमिल्सिनाले हरेक समाचारले पार्ने असरबारे गम्भीर विश्लेषण गर्नुपर्ने बताउँदै भ्रामक सूचनाले छोटो समयमै ठूलो क्षति पु¥याउन सक्ने बताए । साथै, सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता ल्याउन सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी पनि दिए । उनका अनुसार सरकारी सूचना सरकारी सञ्चारमाध्यममार्फत् प्रवाह गर्ने व्यवस्था पारदर्शितासँग जोडिएको विषय हो । सञ्चार जगत आफैले उठान गरेका यस क्षेत्रका अनियमितता हटाउन सरकार अघि बढेको उनको भनाइ छ । त्यस्तै, सञ्चार क्षेत्र बलियो र जिम्मेवार नभएसम्म सरकार पनि प्रभावकारी बन्न नसक्ने उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए । तथ्यमा आधारित र समाधानमुखी पत्रकारितामा जोड दिनुपर्ने उनको भनाइ थियो । मन्त्री तिमिल्सिनाले सरकारले काम र परिणाममार्फत् जवाफ दिने नीति लिएको स्पष्ट पारे । ‘सरकार अफवाह नभै नीति र नतिजामा विश्वास गर्छ । सञ्चार जगत तथा सबै नागरिकले सत्यमा आधारित भएर प्रश्न गर्ने र खबरदारी गर्न सके सरकार जवाफदेही हुन्छ’, उनले भने । नयाँ सरकार गठन भएको छोटो समयमै जनताको आवश्यकता बुझेर काम सुरु गरिएको बताउँदै उनले सेवा प्रवाह सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए । विगतमा देखिएका कमजोरी सुधार्दै अहिले परिणाममुखी काम भइरहेको उनको दाबी छ । उनले नागरिकलाई सरकारप्रति निरन्तर प्रश्न गर्न र निगरानी राख्न आग्रह गर्दै सत्यमा आधारित आलोचना र सुझाव आवश्यक रहेको बताए । साथै, प्रविधिको प्रयोग बढाएर सेवा प्रवाह सहज बनाउने योजना पनि सरकारले अघि सारेको जानकारी दिए । युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यका साथ काम भइरहेको उल्लेख गर्दै उनले तीनै तहका सरकारबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताए । तीन तहका सरकार र निकायबीच अनावश्यक विवादभन्दा सहकार्यबाटै समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।
रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक भोलि (वैशाख ७) गते बस्ने भएको छ । पार्टी कार्यालयद्वारा जारी सूचनाअनुसार बैठक सोही दिन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा आयोजना गरिनेछ । बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । पार्टीले समसामयिक राजनीतिक अवस्था तथा संगठनात्मक विषयमा छलफल हुने जनाएको छ ।
नेपालमा दूतावास खोल्न टर्कीका सभामुखलाई अध्यक्ष दाहालको प्रस्ताव
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२औं महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए । दुई देशबीचको कूटनीतिक सम्बन्ध छ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे । आइपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गर्नुभयो । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे । आगामी नोभेम्बरमा कोप–३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरे । भेटमा आइपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए ।