एमालेमा अध्यक्ष ओलीलाई ‘इग्नोर’
काठमाडौं । कुनै बेला नेकपा एमालेका पर्यावाचीका रुपमा चित्रण हुँदै आएका अध्यक्ष केपी शर्मा ओली अहिले पार्टीमै अल्पमतमा पर्न थालेका छन् । विशेष गरेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन र त्यसपछिको प्रतिनिधिसभा निर्वाचन २०८२ मा पार्टीले नराम्रो हार व्यहोरेपछि ओली पार्टीकै नेता कार्यकर्तामाझ अलोकप्रिय बन्दै गरेका हुन् । उनको अभिव्यक्तिले आउने आलोचना र विरोधले पनि नेताहरूले उनलाई मन पराउन छाडेका छन् । अधिकांश नेताहरूले प्रतिनिधिसभाको निर्वाचनमा उनको नाम पनि लिएनन्, भने विभिन्न प्रदेश तथा जिल्ला तहमा हुने निर्वाचनको प्रचारप्रसारमा उनलाई सहभागी पनि गराएनन् । उनको नाम लिएमा थप घाटा हुने विश्लेषण गर्दै उम्मेदवारहरूले न उनको तस्बिर प्रयोग गरे नत उनलाई सहभागी नै गराए । एक टेलिभिजन अन्तर्वार्तामा यस विषयमा धारणा राख्दै एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवारले पराजय हुने डर र त्रासले ओलीको तस्बिर प्रयोग नगरेको र प्रचार प्रसार सामग्रीमा पनि उनको तस्बिर नराखेको बताएका थिए । अहिले पार्टीका अधिकांश पदाधिकारीहरु नेतृत्व परिवर्तनको माग गरिरहेका छन् । पार्टीमा उनको प्रिय पात्रको परिचय बनाउँदै आएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि उनको विकल्प खोज्ने प्रयासमा छन् । एमालेले भोलि वैशाख ९ गते कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस मनाउँदैछ । महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा पनि पुष्पलाल श्रेष्ठ , मदन भण्डारी र मनमोहन अधिकारीको मात्र तस्बिर छ । यसअघिका प्रचार सामग्रीमा ओलीलाई हाइलाइट्स गर्ने गरिएकोमा अहिले उनको तस्बिर राखिएको छैन । विगतमा पार्टीका विभिन्न पर्चा पम्पलेट तथा प्रचारप्रसार सामग्रीमा ओलीलाई मुख्य प्राथमिकतामा राखेर प्रचार गरिँदै आएको थियो । एमालेले महाधिवेशनमा पनि ओलीलाई फोटोलाई आकर्षक ढंगले प्रस्तुत गरेको थियो । तर, वैशाख ९ गते हुने स्थापना दिवसको प्रचार सामग्रीमा उनको तस्बिर उल्लेख छैन । यसलाई पार्टीभित्र ओलीको बर्हिगमन चाहेको र शीर्ष नेताहरूले नै त्यसमा भूमिका खेलिरहेको बुझिएको छ ।
अर्थमन्त्री र राष्ट्रिय योजना आयोगसहित पदाधिकारी राखेर प्रधानमन्त्रीले राखे बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ । बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल हुनेछ ।
भ्रष्टाचारीको छटपटीले कारबाही रोकिँदैन, म डगमगाउँदिनँ: गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकको ढुकुटी लुट्नेहरू विरुद्ध सुरु गरिएको अभियान कुनै पनि हालतमा नरोकिने उद्घोष गरेका छन् । पछिल्लो समय भइरहेका अनुसन्धान र कारबाहीलाई लिएर भइरहेका आलोचनाप्रति लक्षित गर्दै उनले आफू आफ्नो कर्तव्यबाट विचलित नहुने स्पष्ट पारे । आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले भने, ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन् । अहिले देखिएका मिडिया ट्रायल र प्रायोजित हल्लाहरू केवल उनीहरूको छटपटी मात्र हुन् ।’ गृहमन्त्रीले भ्रष्टाचार विरुद्धको अभियानमा कुनै सम्झौता नहुने बताउँदै दिनकै करोडौं भ्रष्टाचार गर्नेहरू विरुद्ध राज्य कठोर रूपमा प्रस्तुत हुने संकेत गरे । ‘दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिएको थिएन,’ उनले भने, ‘तर अब कारबाही रोकिँदैन र म कति पनि डगमगाउँदिनँ ।’ राज्यको सम्पत्तिमाथि रजाइँ गर्ने गिरोहले बचाउका लागि विभिन्न हत्कण्डा अपनाए पनि कानुनी कठघरामा उभ्याउने गृह प्रशासनको कदम निरन्तर अगाडि बढ्ने उनको दृढता छ ।