अलकायदाका नाममा धम्क्याएर ३३ लाख असुली, ६ वर्षमा ३१ देशका एक सय २८ लागुऔषध कारोबारीलाई पक्राउ

काठमाडौं १, कात्तिक । नेपाललाई ट्रान्जिट तथा आधार बनाएर गाँजादेखि कोकिनसम्मको कारोबार हुने गरेको छ । प्रहरीले पछिल्ला ६ वर्षमा ३१ देशका एक सय २८ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धेरै भारतीय रहेको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । भारतीयसँगै चिनियाँ र पाकिस्तानी लागुऔषध तस्कर नेपालमा पटक–पटक पक्राउ पर्दै आएका छन् । पछिल्लो समय दक्षिण अमेरिकी तथा अफ्रिकन देशका नागरिक नेपालमार्फत लागुऔषध ओसार–पसारमा सक्रिय बनेको प्रहरीको भनाइ छ । नाइजेरियन सक्रिय पाकिस्तानमा उत्पादन हुने सेतो हेरोइन नेपाल हुँदै विभिन्न देशमा तस्करी हुने गरेको छ । ०७० भदौमा सेतो हेरोइनका मुख्य कारोबारी साइदा परविन र उनका दुई सहयोगीलाई लागुऔषध नियन्त्रण ब्युरोले साढे ५ केजी सेतो हेरोइनसहित पक्राउ गरेको थियो । परविन अन्तर्राष्ट्रिय कारोबारी समूहकी एक सदस्य हुन् । उनी अदालतमा चलखेल गरी सफाइ पाएर पाकिस्तान पुगिसकेकी छिन् । उनका दुई सहयोगी अता मोहम्मद साह, सइद हुसेन काज्मी जेलमै छन् । परविनलाई पुनरावेदन अदालतले १५ वर्ष कैद सजाय सुनाइसकेको छ । उनीहरू पक्राउ परेपछि नेपाललाई ट्रान्जिट बनाई हेरोइन तस्करी घटेको छ । नेपालकै बजारका लागि खैरो हेरोइन भने भारतबाट तस्करी हुने गरेको छ । हेरोइन तस्करी घटिरहेका वेला नेपालमा कोकिनको कारोबार भने बढेको छ । नेपालमा पहिलोपटक २०६८ सालमा कोकिन बरामद भएको थियो । त्यसयता करिब २५ किलो कोकिन बरामद भइसकेको छ । गत १२ जेठमा मात्र नाइजेरियन र भेनेजुयलाका दुई नागरिक कोकिनसहित पक्राउ परेका थिए । नेपालका कोकिन प्रयोगकर्ता नभएपछि ट्रान्जिट देशका रूपमा नाइजेरियन समूहले ओसार–पसार गर्दै आएको छ । उनीहरूले दक्षिण अमेरिकी देशका नागरिकलाई भरियाका रूपमा प्रयोग गरी कोकिन कारोबार गर्दै आएको डिआइजी जयबहादुर चन्द बताउँछन् । युरोपका साथै भारत, चीन, थाइल्यान्डलगायतका देशमा समेत नेपाल हुँदै कोकिन जाने गरेको छ ।

हरेक नेपालीको खल्तीमा साढे १५ हजार रुपैयाँ, बजारमा भएका सबै नोटको बराबारी हिसाव गणनामा मात्रै सिमित

काठमाडौं १, कात्तिक । तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफै जानुन्न्। नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँडने हो भने एक जना नेपालीको भागमा साढे १५ हजार रुपैयाँ परेको समाचार राजधानी दैनिकमा  छ। नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन्। केन्द्रीय तथ्थांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ । यो तथ्यांक अनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए। राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर बजारमा पठाएका र पुनः राष्ट्र बैंक नफर्केका नोटलाई चलन चल्तीमा रहेका नोट भनिन्छ । यसमा बैंक तथा बित्तीय संस्था, सहकारी संस्था तथा एटिएम मेसिनमा रहेका नोटसमेत गणना हुन्छ ।

सरकारी अस्पतालमा आफ्नै औषधि पसल हुने, अस्पताल परिषरमा निजी फार्मेसीको दबदबा हट्ने

काठमाडौं ३०, असोज । सरकारी अस्पतालमा आफ्नो छुट्टै फार्मेसी (औषधि पसल) सञ्चालनमा आउने भएको छ । स्वास्थ्य मन्त्रालयले अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पतालले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नैपर्ने हुन्छ । यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ । यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए । निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो । सर्वोच्च अदालतले आदेश दिए पनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सञ्चालन गर्न सकेको थिएन । बिरामीले एउटै औषधिलाई फार्मेसीपिच्छे फरकफरक मूल्य तिर्नुपर्ने बाध्यता थियो । अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधिलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ । स्वास्थ्यमन्त्री गगन थापाले फार्मेसी निर्देशिका अनुसार सरकार मातहतका हरेक अस्पतालमा छ महिनाभित्र फार्मेसी सञ्चालन गर्न लागिएको जानकारी दिए । मन्त्री थापाले केन्द्रीय अस्पतालमा ३० लाख, क्षेत्रीय अस्पताल २५, उपक्षेत्रीय अस्पताल २० र अञ्चल अस्पतालमा १५ लाख रुपियाँ बीउ पुँजीको रूपमा पठाइसकेको जानकारी पनि दिए । यसैगरी जिल्ला अस्पताललाई कुल तीन करोड ४४ लाख रुपियाँ फार्मेसी सञ्चालनका लागि निकासा भइसकेको छ । समाचार स्रोतः गोरखापत्र दैनिकबाट ।