लेखा समितिको सभापतिमा कांग्रेसबाट भरतबहादुर खड्काको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पदका लागि सांसद भरतबहादुर खड्कालाई अघि सारेको छ । पार्टीको संसदीय दलले बिहीबार बसेको बैठकमार्फत खड्कालाई उक्त पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । सोही निर्णयअनुसार खड्काले आजै सार्वजनिक लेखा समितिको सभापति पदका लागि मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका विभिन्न संसदीय समितिहरूमा सभापति चयनका लागि आज मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ ।
युएई जाने नेपालीको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्नेलाई अध्यागमन विभागले कारवाही गर्ने
काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) जानेको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्नेलाई कारबाही गर्ने भएको छ । विभागले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको बेहोरा जानकारीका लागि अनुरोध गरिन्छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यूएई प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी कडाइका साथ निषेध गरिएको छ’ लेखेको भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ । ‘आजको दिनमा धेरै नेपालीहरूको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता समेत भएको यथार्थ हामी सबैलाई अवगत नै छ । नागरिकको यही बाध्यतालाई लिएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको दाबी विभागको छ । ‘विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा समेत काम गरिरहेको छ, विज्ञप्तिमा बताइएको छ ।
हजुरबुवाकै पालाको सम्पत्ति हो, भ्रममा नपरौं : गृहमन्त्री सुधन गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको स्पष्टिकरण दिएका छन् । संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सार्वजनिक भएको विवरणअनुसार उल्लेख गरिएको सम्पत्ति हजुरबुवाको अंशबण्डा अघिदेखिकै रहेको बताए । उनले सम्पत्तिको विषयलाई लिएर विभिन्न अड्कलबाजी भइरहेकाप्रति ध्यानाकर्षण गराउँदै तथ्यभन्दा फरक किसिमका भ्रम नफैलाउन आग्रह गरे । मन्त्री गुरुङले यस्ता विषयमा यथार्थ बुझेर मात्रै सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई अनुरोधसमेत गरे ।