काठमाडौं । सरकारले बजारमा धेरै बिक्री हुने तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तर, शुद्धता र प्याकेजिङमा कडाइ गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटै तेलको नयाँ गुणस्तर मापदण्डको मस्यौदा तयार गरेको हो ।
नयाँ मापदण्डले सिधै खान मिल्ने र नमिल्ने तेल स्पष्ट रूपमा छुट्याएको छ । सिधै खान नमिल्ने तेल उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने र कन्टेनरमा ‘सोझै खानका लागि होइन’ भन्ने चेतावनी स्पष्ट रूपमा लेख्नुपर्ने व्यवस्था गरिएको छ ।
तोरीको तेलमा सिसा र आर्सेनिक अधिकतम ०.१ मिलिग्राम, क्याडमियम १ मिलिग्राम र पारो ०.२५ मिलिग्राम प्रतिकिलोभन्दा बढी हुन नहुने प्रस्ताव गरिएको छ । पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट तोकिएको छ ।
भटमास र सूर्यमुखी तेलमा पनि पेरोक्साइड, अफ्लाटक्सिन तथा विषाक्त धातुको सीमा निर्धारण गरिएको छ । भटमास तेलमा अफ्लाटक्सिन अधिकतम ३० माइक्रोग्राम प्रतिकिलो र रिफाइन्ड तेलमा हेक्जेन ५ पीपीएमभन्दा बढी हुन नहुने व्यवस्था छ ।
मापदण्डले तेलको प्याकेट वा विज्ञापनमा ‘सुपर रिफाइन्ड, डबल रिफाइन्ड, एन्टी–कोलेस्टेरोल, कोलेस्टेरोल फाइटर, कोलेस्टेरोल फ्रेन्डली’ लगायत उपभोक्तालाई भ्रमित पार्ने दाबी प्रयोग गर्न रोक लगाएको छ ।
त्यस्तै, तेल प्याकेजिङमा एकपटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका कन्टेनर पुनः प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । नयाँ प्याकेजमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन मिति र खुद तौल स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
तेलमा के–के नयाँ मापदण्ड ?
पेरोक्साइड भ्यालु : अधिकतम १० मिलिइक्विभ्यालेन्ट
अफ्लाटक्सिन : अधिकतम ३० माइक्रोग्राम/किलो
सिसा : अधिकतम ०.१ मिलिग्राम/किलो
आर्सेनिक : अधिकतम ०.१ मिलिग्राम/किलो
क्याडमियम : अधिकतम १ मिलिग्राम/किलो
पारो : अधिकतम ०.२५ मिलिग्राम/किलो
हेक्जेन : रिफाइन्ड भटमास तेलमा अधिकतम ५ पीपीएम
सिधै खान नमिल्ने तेल : उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने
पुराना टिन/प्लास्टिक कन्टेनर : पुनः प्रयोग गर्न नपाइने
भ्रामक स्वास्थ्य दाबी : विज्ञापन तथा लेबलमा प्रयोग गर्न नपाइने हाल यी व्यवस्था मस्यौदाका रूपमा रहेका छन् ।