एक हजारका नक्कली नोट २१ थानसहित रुपन्देहीबाट ४ जना पक्राउ

देवदह । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।      प्रहरीका अनुसार कपिलवस्तुको वाणगङ्गा नगरपालिका-२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका-१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-९ का ५३ वर्षीय दीपेन्द्र थापा पक्राउ परेका हुन् ।      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली नोटको अवैध कारोबार भइरहेको भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो ।  उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीको निगरानीका क्रममा गत चैत २२ गते सिद्धार्थनगर नगरपालिका-५ (भैरहवा) र चैत २६ गते सैनामैना नगरपालिका-१० स्थित भच्कैयाबाट रु एक हजारदरका नेपाली नक्कली नोट २१ थानसहित चार जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । पक्राउ परेका चारैजनालाई सार्वजनिक गरी सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए ।     

गैर-पर्यटकीय भिसा सिफारिसमा नयाँ व्यवस्था, अब मन्त्रालयमार्फत नै निवेदन दिन सकिने

काठमाडौं । नेपालस्थित विभिन्न वायुसेवा कम्पनीहरूमा विदेशी जनशक्तिलाई काममा लगाउने क्रममा गैर–पर्यटकीय भिसा सिफारिस अब मन्त्रालयमै गर्न सकिने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।  यसअघि नेपालस्थित विभिन्न वायुसेवा कम्पनीहरूमा विदेशी जनशक्तिलाई काममा लगाउने क्रममा गैर–पर्यटकीय भिसा सिफारिसको लागि आवश्यक कानुनी प्रक्रिया पूरा नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस पठाइने व्यवस्था थियो ।  तर अब ‘हवाई सेवा व्यवस्थापन नियमावली, २०८२’ को नियम २३ को उपनियम (३) अनुसार पर्ने अवस्थामा भए सम्बन्धित मन्त्रालयले आवश्यक परेमा आफै प्राधिकरणको सिफारिस माग गर्न सक्ने भएको छ ।  साथै सम्बन्धित कम्पनीहरूले सिधै मन्त्रालयमार्फत नै निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

पोल्ट्री क्षेत्र सुधारका लागि मन्त्री चौधरीसँग व्यवसायीको छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले कुखुरापालन व्यवसायीसँग पोल्ट्री क्षेत्रको सुधार र विकासका विषयमा छलफल गरेकी छन् । नेपाल लेयर्स कुखुरापालक संघले मन्त्री चौधरीसमक्ष पोल्ट्री क्षेत्रले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदान, वर्तमान अवस्था तथा दीर्घकालीन र अल्पकालीन विकासका लागि राज्यले गर्नुपर्ने कदमबारे जानकारी गराएको थियो । साथै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग व्यवसायीहरूले राखेका छन् । मन्त्रालयमा बुधबार भएको उक्त छलफलमा मन्त्री चौधरीले खाद्य स्वच्छता र विषादी परीक्षणलाई कडाइका साथ लागू गर्न सातै प्रदेशका सीमा नाका तथा सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी गराइन् । अवैध आयात नियन्त्रणका लागि क्वारेन्टाइन प्रणाली सुदृढीकरण गर्ने काम अघि बढाइएको पनि उनले बताए । नेपालमा उत्पादन हुने कृषि तथा पशुपन्छीजन्य वस्तुलाई प्राथमिकतामा राख्ने सरकारको नीति रहेको मन्त्री चौधरीको भनाइ थियो । व्यवसायीहरूले बढ्दो उत्पादन लागत, अस्थिर बजार, भारतीय सीमा नाकाबाट हुने अवैध आयात तथा नीतिगत अस्पष्टताका कारण पोल्ट्री क्षेत्र संकटमा परेको गुनासो गरेका छन् । संघले पोल्ट्री क्षेत्रलाई प्राथमिक कृषि उद्योगका रूपमा कानुनी मान्यता दिन, एकीकृत राष्ट्रिय पोल्ट्री नीति निर्माण गर्न, राष्ट्रिय पोल्ट्री विकास बोर्ड गठन गर्न, उत्पादन लागत न्यूनीकरणका लागि कर तथा भन्सार दर घटाउन तथा विद्युत् महसुलमा सहुलियत दिन प्रस्ताव गरेको छ ।