भाडाको कोठामा नक्कली नोट तयार, भीडमा किनमेलको नाटक

काठमाडौं । साँझ पर्न थालेपछि ठमेलका गल्लीहरू उज्यालो बत्ती, संगीत र भीडले भरिन थाल्छन् । पर्यटक, युवा र किनमेलमा निस्किएका मानिसहरूको चहलपहलबीच केही अनुहार यस्ता पनि थिए, जसको उद्देश्य रमाइलो होइन- ठगी थियो । ललितपुरको महालक्ष्मी नगरपालिका-८ मा भाडाको कोठाबाट सुरु भएको एउटा सानो योजना विस्तारै उपत्यकाका भीडभाड हुने बजारसम्म फैलिएको थियो । बाहिरबाट हेर्दा सामान्य देखिने चार युवाहरू- रामकुमार पाख्रिन, पुर्णराज बाध्यकार, दीपेश बाध्यकार र शिव घिसिङ भित्रभित्रै नक्कली नोटको कारोबारमा संलग्न थिए । प्रहरीका अनुसार उनीहरूले कोठा भाडामा लिएर नक्कली नोट छाप्ने मेसिन जडान गरेका थिए । गिरोहभित्र कामको स्पष्ट बाँडफाँड थियो । मुख्य भूमिका पुर्णराज बाध्यकारले निभाउँथे- नोट छाप्ने जिम्मा उनकै थियो । अन्य सदस्यहरूलाई भने ती नोट बजारमा ‘साट्न’ पठाइन्थ्यो । उनीहरूको तरिका पनि निकै चलाख थियो । साँझको समय जब बजार व्यस्त हुन्थ्यो, उनीहरू किनमेलको बहानामा पसलतिर लाग्थे । ५ हजार रुपैयाँको सामान किन्दा उनीहरूले सक्कली नोटको बीचमा १-२ वटा नक्कली नोट मिसाएर भुक्तानी गर्थे । हतार, भीड र व्यस्तताबीच पसलेले छुट्याउनै सक्दैनथे। प्रहरी स्रोतका अनुसार उनीहरूको गतिविधि केवल ठमेलमा मात्र सीमित थिएन । जात्रा र भीडभाड हुने अन्य स्थानहरूमा पनि उनीहरू सक्रिय थिए । विशेषगरी ठेलामा व्यापार गर्ने साना व्यापारी उनीहरूको सजिलो लक्ष्य बन्थे । नयाँ वर्षको समयमा त उनीहरू अझ सक्रिय भए । भीड, उत्सव र हतारबीच नक्कली नोट चलाउन सजिलो हुने उनीहरूको बुझाइ थियो। रेष्टुरेन्टहरुमा समेत उनीहरूले ठूलो बिल आउने गरी अर्डर दिने, तर वास्तवमा धेरै नखाने- उद्देश्य केवल नक्कली नोट चलाउनु थियो । तर, लामो समयसम्म उनीहरूकाे नक्कली नाेटकाे काराेबारकाे धन्दा गतिविधि लुकेर बस्न सकेन । बजारमा नक्कली नोटको प्रयोग बढेको सूचनापछि प्रहरी सचेत बनेको थियो । शङ्कास्पद व्यवहार, अस्वाभाविक किनमेल शैली र बारम्बार एउटै ढाँचामा कारोबार गर्ने प्रवृत्तिले अन्ततः उनीहरू प्रहरीको निगरानीमा परे । गत शुक्रबार, उनीहरू फेरि ‘किनमेल’का लागि निस्कन लागेको अवस्थामा प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेका बाध्यकारको कोठामा छापा मार्दा ५ सयको नोट ३७ थान, १ हजारका नोट ६ थान, १ हजारका नोट छापेर राखिएको एफो साइजका पेपर ८ थान, नक्कली नोट छाप्न प्रयोग गरिने मेसिन १ थान र १ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले भने, ‘यस्ता गिरोह चिन्ने संकेतहरू प्रष्ट हुन्छन् । व्यवहारमा अस्वाभाविकता, अनावश्यक ठूलो बिल बनाउने बानी र भुक्तानी गर्दा देखिने हतार- यी सबैले शंका पैदा गर्छन् ।’

पाँच वर्षमा अख्तियारका ७९८ मुद्दा, ३१ अर्बभन्दा बढी बिगो दाबी

प्रकाश सिलवाल काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ ।      सो अवधिमा कुल एक लाख ६६ हजार ५२० उजुरी परेकामा एक लाख २१ हजार ९४३ (७३ दशमलव २३ प्रतिशत) फर्छ्यौट भई ७९८ मुद्दा दायर भएका छन् । ती मुद्दामा चार हजार ६६२ जनालाई प्रतिवादी बनाई  ३१ अर्ब ५२ करोड २५ लाख पाँच हजार ५७३ रुपैयाँ बिगो दाबी गरिएको छ । यी मुद्दामा विशेष अदालतबाट सरदर ५५ प्रतिशत कसुर स्थापित भएको छ भने कसुर स्थापित नभएकामध्ये ७१९ मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको छ । पुनरावलोकन गरिएकामध्ये नौ मुद्दामा अख्तियारको माग दाबीअनुसार सर्वोच्च अदालतबाट ठहर भएको आयोगले जनाएको छ ।      आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका पदाधिकारीले २०७७ माघ २१ गतेदेखि पद बहाली गरेका थिए । आर्थिक वर्ष २०७७/७८ को तुलनामा पछिल्लो आर्थिक वर्षमा उजुरी, फछ्र्यौट र मुद्दा दायरको आँकडा बढ्दो देखिएको छ ।      आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/७८ को माघसम्ममा १२ हजार ४९६ उजुरी र ४६ मुद्दा दायरी भई २३० प्रतिवादी रहेकामा चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म २८ हजार ४१६ उजुरी र १२१ मुद्दा दायर भई ४२९ प्रतिवादी छन् । आर्थिक वर्ष २०७७/७८ मा दायर भएका मुद्दामध्ये ६८ प्रतिशत कसुर स्थापित भएका थिए भने चालु आर्थिक वर्षको चैतसम्ममा ४८ दशमलव ८५ प्रतिशत कसुर स्थापित भएका छन् ।       यसैगरी, आव २०७८/७९ मा २४ हजार ३३१ उजुरी परेकामा ७० दशमलव ५६ प्रतिशत फछ्र्यौट भई १३१ मुद्दा दायर भई ६३९ प्रतिवादी रहेका थिए । आव २०७९/८० मा २८ हजार ६५ उजुरी परेकामा ६६ दशमलव ९८ प्रतिशत फछ्र्यौट भई १६१ मुद्दा दायर भएकामा ७६६ प्रतिवादी कायम गरिएको थियो । यी मुद्दामा ३३ दशमलव ४३ प्रतिशत कसुर स्थापित भएका छन् ।       आर्थिक वर्ष २०८०/८१ मा ३६ हजार १८६ उजुरी परेकामा ७६ दशमलव ५९ प्रतिशत फछ्र्यौट भई २०१ मुद्दामा गरी एक हजार ५४५ प्रतिवादी रहेका थिए । यसमध्ये ६५ दशमलव ६७ प्रतिशत कसुर स्थापित भएको थियो । आव २०८१/८२ मा ३७ हजार २६ उजुरीमध्ये ८० दशमलव २२ प्रतिशत फछ्र्यौट भई १३७ मुद्दामा ७५३ प्रतिवादी  कायम भए । यीमध्ये ५२ दशमलव ६७ प्रतिशत कसुर स्थापित भएको थियो ।       संसद्को गत अधिवेशनमा पेस भएको अख्तियारको ३५औँ वार्षिक प्रतिवेदनमा प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बन्धी उजुरीको सङ्ख्या बढी देखिएको छ ।      ‘स्टिङ अपरेसन’का सम्बन्धमा सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० अमान्य र बदर हुने गरी २०७८ वैशाख ८ मा फैसला भएका कारण त्यसयता घूस (रिसवत) सम्बन्धी भ्रष्टाचार मुद्दाको सफलता दर केही घट्न गएको आयोगको बुझाइ छ ।       आयोगले प्राप्त उजुरी, आयोगको अनुसन्धान र विद्यमान कानुनी व्यवस्थाअनुसार मुद्दा अघि बढाउने भएकाले विशेष अदालतको फैसलाबारे पुनरावलोकनबाहेक अरू विकल्प आफूहरुसँग नहुने प्रवक्ता न्यौपानेको भनाइ छ ।      नेपालको संविधानको भाग २१ बमोजिम दुरुपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानुनबमोजिम अनुसन्धान गरी वा गराई त्यस्तो अनुसन्धानबाट कसुरदार देखिएमा त्यस्ता व्यक्तिउपर विशेष अदालतमा मुद्दा दायर गराउँदै आएको छ । आयोगले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजन गर्ने वा गराउने कार्यका अतिरिक्त भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न प्रकारका निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिहरु तय गरी सदाचार, निष्पक्षता, निडरता, पेसागत विशिष्टता र प्रमाणमा आधारित अनुसन्धान एवं अभियोजनजस्ता मूल्यमान्यताका आधारमा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्दै आएको प्रवक्ता न्यौपानेले बताए । शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी      आयोगले यसबीचमा दायर गरेका मुद्दामा प्रतिवादी बनाइएकामा तत्कालीन प्रधानमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म छन् । आयोगका अनुसार २०७७ माघ २१ देखि गत चैत मसान्तसम्ममा यस वर्गमा १०२ प्रतिवादी भएका छन् । प्रतिवादी बनाइएकामा पतञ्जली योगपीठको जग्गा साटफेर प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, वाइडबडी खरिदमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, टेरामक्स खरिदमा तत्कालीन सूचना तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेत, लिची बगैँचा जग्गाको घूस रिसवतमा तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री  राजकुमार गुप्ता र तत्कालीन भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री रंजिता श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ  । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको अनियमितता मुद्दामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्य र दीपक चन्द अमात्य तथा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत प्रतिवादी रहेका छन् ।      यस्तै, भन्सार छलेर सुन ल्याएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आयोगले मुद्दा दायर गरेको छ । यसैगरी, विभिन्न प्रदेशका मन्त्री, सांसद, नगर तथा गाउँपालिकाका प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षविरुद्ध पनि मुद्दा दायर भएको छ ।      यसैगरी, पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अन्तःशुल्क स्टिकरमा मुद्दा दायर भई किनारा लागिसकेको छ भने नेपाल सरकारका तत्कालीन सचिवहरु रामकुमार श्रेष्ठविरुद्ध गैह्रकानुनी सम्पत्ति आर्जन, शङ्करप्रसाद अधिकारीविरुद्ध वाइडबडी खरिद, सञ्जय शर्माविरुद्ध नेसनल पेमेन्ट गेटवे, छविराज पन्तविरुद्ध पतञ्जली योगपीठ जग्गा साटफेरमा मुद्दा दायर गरिएको छ ।       तत्कालीन सचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्माविरुद्ध विमानस्थल निर्माणमा लागत बढाइएको विषयमा मुद्दा दायर भएको छ । यस्तै, विभिन्न सहसचिव, महानिर्देशकहरु, प्रदेश सचिव, सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा विभिन्न कर्मचारीविरुद्ध मुद्दा दायर भएको आयोगले जनाएको छ ।       सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा भएको हालको संशोधित व्यवस्थाअनुसार आयोगले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान गर्ने क्रममा सम्पत्ति शुद्धीकरण कसुरका तत्व देखिएमा सोको समेत अनुसन्धान गर्ने व्यवस्था रहेको छ । रासस  

गुल्मीमा शनिबारदेखि सातामा ४ पटक हवाई सेवा सञ्चालन, पर्यटकको सङ्ख्यामा वृद्धि

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।      यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।       पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा-काठमाडौंको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौंबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौंका लागि रु १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए । निगमले यसअघि काठमाडौंबाट रेसुङ्गाका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।          विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा रु तीन हजार ४०२ मूल्य वृद्धि गरिएको स्टेसन प्रमुख थापाले जानकारी दिए । उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ ।       वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ । नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौं-रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ ।       काठमाडौंबाट आइतबार बिहान ८ः०५ बजे र रेसुङ्गाबाट बिहान ९ः०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौबाट बिहान ६ः१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।      गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो । रासस